कांग्रेस केन्द्रीय कार्यालय तनावग्रस्त, २० भन्दा धेरै घाइते, कुटिए पत्रकार - News site from Nepal

काठमाडौं, –नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय तनावग्रस्त बनेको छ । पार्टी निकट विद्यार्थी संगठन नेविसंघका दुई समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालय आज तनावग्रस्त बनेको हो ।

कांग्रेस कार्यालय तनावग्रस्त बन्दा समाचार संकलनका लागि पार्टी कार्यालय सानेपा पुगेका बाह्रखरीका पत्रकार केशव सावद प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन् । प्रदर्शनकारीलाई भने प्रहरीले तितरवितर पारेको छ । पछिल्लो समय नेविसंघमा ३२ वर्षे हदबन्दीको विषयले उग्ररूप लिएको छ । उमेर हदको पक्ष र विपक्षमा विद्यार्थी नेताहरुले प्रदर्शन गरेपछि कांग्रेस पार्टी कार्यालय तनावग्रस्त बनेको थियो ।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी समुह र संस्थापन पक्षले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन र घेराबन्दी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । कांग्रेस नेताहरुकै निर्देशनमा प्रहरीले बल प्रयोग गरेको हो । काफ्ले समूहले ३२ वर्ष मुनिको तदर्थ समिति गठनको माग गर्दै आइतबार बिहानैबाट नाराबाजी गरेको थियो ।

प्रदर्शनकारीलाई कांग्रेस पार्टी कार्यालय प्रवेश गर्ने सडकमै प्रहरीले रोकेको थियो । अरू दिनभन्दा सुरक्षा व्यवस्था कडा पारिएको थियो । पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य र पत्रकारलाई मात्र प्रवेश गर्न दिइएको थियो ।

फागुन ९ गते उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतमाथि काफ्ले समूहले दुव्र्यवहार गरेका कारण प्रदर्शनकारीलाई सडक छेउमै रोकिएको थियो । नेताहरुमाथि दुर्व्यवहार गरेको विरोधमा संस्थापन पक्षले पनि पार्टीभित्र अनुशासन कायम हुनुपर्ने भन्दै विरोधमा उत्रिएको थियो ।

ऋषिकेशजंग शाहको नेतृत्वमा विश्वभाषा क्याम्पसबाट विद्यार्थीहरू झडपको तयारीसहित पार्टी कार्यालय पुगेका थिए । पार्टी कार्यालय पुगेका संस्थापन पक्षको ब्यानर काफ्ले समूहले च्यातिदिएपछि २ पक्षबीच झडपको स्थिति बनेको प्रहरीले जनाएको छ । झडप हुने देखेपछि कांग्रेस नेताहरुले प्रहरीलाई बल प्रयोग गरी हटाउन निर्देशन दिएको हो ।

कांग्रेसले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बैठक सुरु हुनुअगावै पुगेर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट विद्यार्थीहरुको समूहले ३२ वर्षमाथिको तदर्थ समिति नमान्ने भन्दै नाराबाजी सुरु गर्यो । आइतबार नै संस्थापन पक्षीय विद्यार्थीहरु पनि पार्टीभित्र बढिरहेको अन्तरघात, अराजकता र अनुशासनहिनता विरुद्ध भन्दै मौन जुलुसका साथ सानेपा पुगे ।

यसबीचमा प्रहरीले कांग्रेस पार्टी कार्यालय प्रवेश गर्ने गेटबाट कुनै पनि विद्यार्थीलाई भित्र प्रवेश गर्न दिएको थिएन । कांग्रेस नेताहरु पार्टी कार्यालय प्रवेश गरिरहेका थिए, त्यस क्रममा सिटौला निकट विद्यार्थीहरु नेता सवार गाडीको दायाँ–बायाँ भएर नारा लगाइरहेका थिए– हामी केही जान्दैनौं, ३२ माथि मान्दैनौं ।’

आक्रमणमा परेको पत्रकार साउदका अनुसार सोही क्रममा उनीहरुले सभापति देउवा सवार गाडीलाई केहीबेर अवरोध गरेर नाराबाजी गरेपछि संस्थापन निकट विद्यार्थीहरु आक्रोशित भइसकेका थिए । उनीहरुले केहीबेरपछि पुगेका नेता कृष्णप्रसाद सिटौलालाई रोकेर पार्टीमा अनुशासनहीनता बढ्दै गएकाले नियन्त्रणको पहल गर्न माग गरे । संस्थापन पक्षीय विद्यार्थीहरुले आफू निकट नेता सिटौलालाई ‘र्‍याखर्‍याखती’ पारेको निष्कर्षमा पुगेका विद्यार्थीहरुले संस्थापन पक्षले झुण्ड्याएको ब्यानर च्यातचुत पारिदिए ।

उनीहरुले च्यातेको ब्यानरमा लेखिएको थियो– जुझारु र गतिशील नेविसंघका लागि ऋषिकेशजंग शाहको आवश्यकता । ब्यानर च्यातिएपछि दुई पक्षबीच भनाभन सुरु भयो । भनाभनकै क्रममा सिटौला समूहबाट पानीको बोतल हान्न सुरु भयो ।

त्यसपछि दुवै पक्षबाट ढुंगा हानाहान सुरु भयो । प्रहरीले विद्यार्थीहरुलाई तितरवितर गर्न लाठी प्रहार गर्न सुरु गरेपछि आक्रोशित दुवै पक्षका विद्यार्थीहरु प्रहरीमाथि नै जाइलाग्न थाले । झण्डै आधा घण्टासम्म चलेको विद्यार्थीको ढुंगामुढा र प्रहरीको लाठीचार्जका क्रममा दुवै पक्षका केही विद्यार्थीहरु घाइते भएका छन् । यस क्रममा प्रहरीले समाचार संकलनमा गएका पत्रकारहरुमाथि पनि कुटपिट गर्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!