पर्वत-  नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले अर्को चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने जिकिर गर्नुभएको  छ । कुश्मा नगरपालिका–१४ आर्थरमा भएको वडास्तरिय बैठक तथा क्रियाशिल सदस्यता वितरण गदै जोशीले कम्युनिष्ट सरकार प्रति जनता संन्तुष्ट हुन नसकेको टिप्पणी गर्नुभयो ।

सरकारले जनताको चाहाना अनुसार काम गर्न नसकेको र आफ्ना कार्यकर्ता केन्द्रीत निति अबलम्बन गरेको आरोप लगाउँदै त्यसको परिणाम कम्युनिस्टले अर्को चुनावमा भोग्ने बताउनु भयो । जनतालाई कर बृद्धि सहित जनहित विपरितका काममा केन्द्रित बनेको सरकारवाट जनताले राहत नपाएको भन्दै सरकारको कामलाई काँग्रेसले अवरोध गरेको भनेर जनतालाई भ्रममा पार्न खोजिएको प्रष्ट् पार्नुभयो  ।

नेता जोशीले नेपाली कांग्रेसलाई आगामी चुनावमा पहिलो पार्टी बनाउने प्रण गरेको भन्दै त्यसका लागि एकजुट भएर सहयोग गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । एक फरक प्रसंगमा बोल्दै नेता जोशीले आफुले शुरु गरेका योजनामा अहिलेका साँसदहरुले रिवन काट्दै हिँडेको प्रति आपत्ती जनाउनु भयो ।

नेता जोशीले माननिय ज्यूहरु खल्तीमै सलाई र कैची हालेर हिँड्ने गरेको भन्दै व्यंग्य गर्नुभयो । ‘तपाईले चुनाव जितेर गएपछि जिल्लामा कुन नयाँ योजना ल्याउनुभयो, जनता जान्न चाहान्छन्’, उहाँले भन्नुभयो । काँग्रेसलाई जनताले प्रतिपक्षको भूमिका खेल्न मत दिएको बताउँदै जनपक्षीय हिसावले काम भएको छ, छैन छानविन गर्न निर्देशन दिनुभयो ।

नेपाली काँग्रेस आर्थरका सभापति रुद्रमोहन रिमालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य कुलप्रसाद उपाध्याय, अर्का सदस्य कुलप्रसाद पाध्या, नेपाल महिला संघ पर्वतकी सदस्य मनमाया नेपाली, सन्तोष विक, अम्वरवहादुर क्षेत्री, कृष्णवहादुर बाँनिया,अमृत गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको संचालन सचिव हिमलाल शर्माले गर्नुभएको थियो ।