कांग्रेसका संस्थापक बीपी कोइरालाले लिएको नीतिलाई हामी बोक्छौं : कमल थापा - News site from Nepal

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले लिएको मेलमिलापको नीतिलाई आफ्नो पार्टीले वैचारिक मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गर्ने निर्णय गरेको छ । राप्रपाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने माग दोहोर्‍याएको छ । 
राजधानीमा सम्पन्न केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले स्वतन्त्र सार्वभौम राष्ट्रको अस्तित्व जोगाउन मेलमिलापको नीति सान्दर्भिक रहेको बताएका हुन् ।
‘बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीको वैचारिक मार्गदर्शक सिद्धान्तको रूपमा लिने निर्णय गरेका छौं,’ उनले भने, ‘राष्ट्रियता र प्रजातन्त्र तथा राजा र जनताबीचको एकता हो, यसबाट स्वतन्त्र सार्वभौम अस्तित्व जोगिनुका साथै प्रजातन्त्र बलियो हुन्छ भन्ने बीपीको मान्यता थियो । बीपीको विचारलाई परित्याग गरेको छ, उपेक्षा गरेको छ, वैचारिक मार्गदर्शक सिद्धान्तको रूपमा लिएका छौं ।’
अध्यक्ष थापाले संघीयता र धर्मनिरपेक्षताबारे पुर्नविचार गर्नुपर्ने समय आएको बताए । ‘राजसंस्थादेखि विप्लव समूहसम्म अटाउने नेपाली परिवेश अनुसारको प्रजातान्त्रिक प्रणाली स्थापना गर्नु उपयुक्त हुने मान्यता अगाडि सारेका छौं,’ थापाले भने, ‘धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रबारे जनमतसंग्रह गरियोस्, जनमतसंग्रहबाटै विवाद टुंग्याउन उपयुक्त हुने धारणा राखेका छौं ।’
चुनावी राजनीतिभन्दा माथि उठेको राजसंस्थासहितको प्रजातन्त्र अहिले देशको आवश्यकता रहेको राप्रपाको ठम्याइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!