कुश्मामा हुने गुप्तेश्वर विराट महायज्ञको पाङमा तयारी समिति गठन - News site from Nepal

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा संचालन गर्न लागिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारी तीब्र पारिएको छ ।
महायज्ञलाई सभ्य र भव्य बनाउनका लागि विभिन्न समिती तथा उपसमितिहरु गठन गर्ने कार्य भैरहेको छ । यसैबीच कुश्मा नगरपालिकाको पाङ र खुर्कोट क्षेत्रमा समिति गठन गरिएको छ ।
भेलालाई सम्वोधन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले गुप्तेश्वर बिराट महायज्ञ कुश्मा नगरपालिकाकै भविष्यसँग जोडिएकाले यसलाई भव्य रुपमा सपल पार्नु नगरवासीहरुको दायित्व भएको बताउनुभयो । उहाँले जिल्लाको समग्र विकासका लागि पनि यो महायज्ञको महत्वपुर्ण भूमिका हुने बताउँदै सवै नगरवासीहरुलाई मन बचन र कर्मले सहयोग गर्न आव्हान समेत गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेल, मेलाका मुल संयोजक पृथ्वीनारायण शर्मा, बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्मा लगायतले बोल्नुभएको थियो ।
भेलाले दुई वडाको संयुक्त संयोजकमा रविलाल शर्मा पौडेल र सचिबमा बिरेन्द्र रिजाल रहनुभएको छ । र सल्लाहाकारमा वडा नं. १ का अध्यक्ष देवेन्द्रप्रसाद सुवेदी र वडा नं. २ का अध्यक्ष यदुनाथ बास्तोला रहनुभएको छ भने समितिमा अन्य १३ जना सदस्यहरु रहनुभएको छ ।
समितिले महायज्ञका लागि संस्थापक सदस्यहरु बनाउने, चन्दादाताहरु खोज्नुका साथै तुलादान गर्नेहरुको नामावली संकलन लगायतका तयारीहरु गर्ने भएको छ ।
पार्वती गुफा संरक्षण समितिका अध्यक्ष छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न भेलाको संचालन गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोम मुल आयोजक समितिका महासचिब अच्युत तिवारीले गर्नुभएको थियो ।
यस्तै समिति चुवा, दुर्लुङ्ग लगायत विभिन्न क्षेत्रमा गठन गरिने महासचिब अच्युत तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!