
पर्वत- नेपाल प्रेश यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले सरकारले प्रेशमाथी हमला गरेको बताउनुभएको छ । पर्वतको कुश्मामा प्रेश यूनियन पर्वतको पाँचौ अधिबेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सिग्देलले उक्त कुरा बताउनुभएको हो ।
सिग्देलले वर्तमान सरकारले पत्रकारलाई विकृति, बिसंगती, बलत्कार, हत्या, हिँसा, कुसासनको बारेमा समाचार नलेख्न दवाव दिन थालेको भन्दै आपत्ती जनाउनुभयो । दुई तिहाई मतको दम्भले सरकार बरालिन थालेको सिग्देलले बताउनुभयो । उहाँले लोकतन्त्र बचाउन प्रेश जगत चनाखो भएर लाग्नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ । केन्द्रिय अध्यक्ष सिग्देलले लोकतन्त्र मास्ने काम भैरहेकाले कुनै पनि हालतमा पत्रकार चुप लागेर नवस्ने चेतावनी दिनुभयो । उहाँले नेपाली काँग्रेसलाई समेत एक हुन आग्रह गर्नुभयो ।
अहिले चौतर्फि रुपमा नेपाली काँग्रेसलाई घेराबन्दीमा पार्न थालिएको भन्दै यो बेला विभाजित नभई एकजुट भएर संगठन बलियो बनाउन सुझाव दिनुभयो । कार्यक्रममा प्रेश यूनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले प्रेश यूनियन विगत देखि लोकतन्त्रका लागि लड्दै आएको र जस्तो सुकै परिस्थिती आएपनि लोकतन्त्रका लागि भोली पनि लड्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व साँसद एवं नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य ऋषिकेश तिवारीले पत्रकारहरुलाई कुनै पनि समस्यामा परेर नआत्तिलिन आग्रह गर्नुभयो । पेशाबाट पलायन हुनुभन्दा धैर्य रहे एकदिन सफलता हात पार्न सकिने तिवारीले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, अर्का महासमिति सदस्य राधा कुमारी कुँवर क्षेत्री, नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य सरस्वती शर्मा ‘जिज्ञाश’ु, पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,नेता राम शर्मा पौडेल, प्रेश यूनियनका केन्द्रिय सदस्य टंक अधिकारी, प्रेश यूनियन पर्वतका संस्थापक सचिव एवं रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष एवं पे्रश यूनियन पर्वतका निवर्तमान अध्यक्ष छविलाल तिवारी, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा लगायतले बोल्नुभएको थियो । उक्त अवसरमा प्रेश यूनियनको पाँचौ अधिबेशनबाट निर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्यहरु, केन्द्रिय पार्सद र प्रदेश पार्सदहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
त्यस्तै प्रेश यूनियनमा रहेर अतुलनिय योगदान गरेको भन्दै संस्थापक सचिव ओमप्रसाद घायल र निवर्तमान अध्यक्ष छविलाल तिवारीलाई सम्मान गरिएको छ । प्रेश यूनियनका जिल्ला अध्यक्ष माया अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष रोशन तिवारीले गर्नुभयो भने सञ्चालन सचिव साजन परियारले गर्नुभएको थियो ।