नक्कली प्रहरी बनेर चोरी गर्ने पर्वतको जलजलाका युवा पक्राउ - News site from Nepal

पर्वत- आफुलाई सादा पोशाकको प्रहरी भएको बताउँदै चोरी डकैतीमा संलग्न एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । प्रहरीले पर्वतको जलजला गाउँपालिका ६ शालिजाका २१ बर्षिय रेशम सुवेदीलाई आइतबार दिउँसो कुश्मा नगरपालिका स्थित कुश्माबजारको शिवालयचोकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सुवेदीले छिमेकी जिल्ला बागलुङ र पर्वतका विभिन्न स्थानहरुमा चोरी गरेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार पक्राउ परेका सुवेदीले आफु सादा पोशाकको प्रहरी भएको र विभिन्न घटनामा संलग्न व्यक्तिहरुलाई खोजी कार्यका लागि आएको बताउँदै घर कोठामा पसेर चोरी गर्दै आएका थिए ।
आरोपित सुवेदीले बागलुङ नगरपालिका १४ बलेवा बस्ने छत्रमान सुवेदीको घर कोठाबाट एक थान मोबाइल र नगद ३३ हजार, पर्वत कुश्मा नगरपालिका २ खुर्काेट बस्ने गायत्री उपाध्याको घरकोठाबाट नगद ६ हजार, पर्वत जलजला गाउँपालिका ३ माझफाँट बस्ने लक्ष्मी जि.सी.को घरकोठाबाट ६ हजार नगद सहित एक तोलाको सुनको सिक्री र आधा तोलाको सुनको बेरुवा औँठी लगायतका जिन्सी तथा नगद चोरी गरेको खुल्न आएको छ ।
प्रहरी नियन्त्रणमा रहेका चोरी घटनाका आरोपित सुवेदी यस अघि २०७२ मंसिरमा चोरी सम्बन्धि कसुरमा नै नियन्त्रणमा रहेर पर्वत जिल्ला अदालतबाट तीन बर्ष कैद सजाय भुक्तान गरेर २०७५ माघमा छुटेका थिए ।
पटक पटक एउटै घटनामा संलग्न रहेको पाइएपछि पर्वत प्रहरीले आरोपित सुवेदीलाई चोरी सम्बन्धी कसुर मुद्धामा अनुसन्धानको लागि पर्वत जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!