
पर्वत / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को झण्डै दुई तिहाईको सरकार छ, प्रदेश र स्थानिय तहमा पनि दुई तिहाई भन्दा बढी नै पार्टीका तर्फबाट सरकार बनेका छन । यस्तो अबस्थामा कार्यकर्ताहरुले पार्टी दुःख गरेका र लामो योगदान भएका कार्यकर्तालाई नहेरेको गुनासो गरेका छन ।
नेकपाले मोदी गाउँपालिका वडा नं २ देउपुरमा आयोजना गरेको सपथग्रहण तथा वडा कमिटीको बैठकमा बोल्ने कार्यकर्ताहरुले पार्टीमा टाढाबाठाहरु नै हाबी हुँदा इमान्दार कार्यकर्ताहरु पछि परेको गुनासो गरेका हुन ।
‘दुःख गरेका र अहिले समस्यामा परेका कार्यकर्तालाई हेरिएन’ उनीहरुको भनाई थियो ‘छलछाम गर्न सक्ने र नेतालाई चाकडी बजाउन सक्नेहरु नै हाबी भए’ भूमिगतकालमा नेताहरुको दिसापिसाब सोहोर्ने र भकारीमा लुकाउने कार्यकर्ताहरु अहिले पुरै बेवास्ता गरिएको गुनासो नेतृत्व संग कार्यकर्ताको थियो । ‘मन परेका मान्छेलाई पद, सुबिधा र स्रोत साधन सबै दिइन्छ’ कार्यकर्ताले भने ‘दुःख गर्ने कार्यकर्ताहरु हेरेरै बस्नुपर्छ’ गलत गर्नेहरु पुरस्कृत भैरहने हो भने पार्टी ध्वस्त हुने चेतावनी पनि कार्यकर्ताको थियो ।
कार्यक्रममा धारणा राख्नेहरुले दुई पार्टीका बिचमा तल्ला कमिटी एकता गर्दा पनि स्थानिय तहमा स्थापित नेताहरुलाई र जनताको सुखदुःखमा साथ दिनेलाई जिम्बेवारी दिनुपर्ने तथा भागबण्डाका नाममा गलत मानिसको हातमा नेतृत्व पुग्दा पार्टी बलियो भन्दा निस्कृय बन्ने खतरा रहेको बताएका थिए । कार्यकर्ताहरुले बिगतमा जे भएपनि सबैकुरा भुलेर बलियो पार्टी बनाउन एकमत भएर लाग्न आग्रह गरेका थिए । निर्वाचित जनप्रतिनिधीहरु अनुदार बन्दैगएको भनेर कार्यकर्ताले असन्तुष्टि पनि जनाएका थिए ।
उक्त अन्तरकृया कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्र्चाज गुप्तबहादुर हमालले नेपालमा बलियो कम्युनिष्ट पार्टी बनाउनका लागि दुई पार्टीका बिचमा एकता भएको बताउँदै एकताबाट अत्तालिएकाहरुले फैलाएको भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेपालमा अबको ५० बर्ष कम्युनिष्ट पार्टीले समाजबादी सत्ता सञ्चालन गर्ने संभावना रहेको हुँदा देश र जनताको सम्बृद्धि त्यसैबाट हुन्छ भन्नुभयो । उहाँले ठुलो पार्टी भएकोले सबैले जिम्बेवारी नपाएपनि क्रमशः असन्तुष्टहरुलाई पार्टीका हरेक कमिटीमा समेटेर जाने प्रतिबद्धता जनाउनुभयो ।
नेकपा पर्वतका अध्यक्ष तथा प्रतिनिधीसभा सदस्य पदम गिरीले नेकपाको सरकारले देशलाई समाजबादको बाटोमा अगाडी बढाइरहेको चर्चा गर्दै पाँच बर्षभित्रमा देशले बिश्व छक्क पर्ने गरि फड्को मार्ने बिश्वास दिलाउनुभयो ।
कार्यक्रममा संबिधानसभा सदस्य कल्पना चापागाई, नेकपाका प्रदेश कमिटी सदस्य मेघनाथ सुबेदी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, नेकपा मोदी गाउँपालिका कमिटीका सचिब कृष्ण सुबेदी, मोदी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बिकास तिमिल्सिनाले बोल्नुभएको थियो । मोदी गाउँपालिका वडा नं २ वडा कमिटीका अध्यक्ष भिमप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब सुर्यप्रसाद शर्माले गर्नुभएको थियो । नेकपाले मोदी गाउँपालिकाका वडाहरुमा कार्यकर्ताहरु संग अन्तरकृया र सपथ ग्रहण गराउने अभियान चलाईरहेको छ ।