पर्वत साहित्य संगमद्वारा विद्यार्थीका लागि स्थलगत कविता लेखन प्रतियोगिता - News site from Nepal

पर्वत- पर्वत साहित्य संगमको आयोजना र कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा विद्यालय स्तरीय कविता लेखन प्रतियोगिता आज कुश्मामा सम्पन्न भएको छ । कविता लेखन प्रतियोगिताको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने यस्ता कार्यक्रमले विद्यार्थीमा भएको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सहयोग पुग्ने वताउनु भएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं ११ का वडा अध्यक्ष शिब पौडेल र म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखा कौशल रेग्मी लगायतले पनि बोल्नुभएको थियो ।

प्रतियोगिताबाट जनक मावि का छात्र प्रभा लामिछाने प्रथम, राष्ट्रियवाल शिक्षा सदन आवासीय माविका छात्र द्वितीयपंकज रिमाल, कालीगण्डकी एकेडेमी आवासीय माविका छात्रा पूर्णिमा देवि खत्री र नमूना आवासीय माविका छात्र सन्देश पौडेलले तृतीय स्थान हासिल गरेका थिए । विजयी प्रतियोगीहरुलाई क्रमश पाँचहजार, तीनहजार, दुईहजार र एकहजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष तथा साहित्यकार इन्द्रकुमार विकल्पले जानकारी दिनुभयो ।

पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष डिआर शर्माले र कार्यक्रमको संचालन सचिव खेमराज शर्माले गर्नुभएको थियो । कार्यक्रममा मूल्यांकनकर्ता रेखा कौशल रेग्मीले कविता लेखन प्रतियोगिताका नियमहरुको वारेमा प्रकाश पार्नु भएको थियो । उक्त प्रतियोगितामा विभिन्न विद्यालयका १७ जना छात्र छात्राले भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!