ओली पूरै कार्यकाल प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष - News site from Nepal
काठमाडौं : सत्तारूढ नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने भएका छन्। दाहालले कार्यकारी पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री हुने भएका छन्।
बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी बनाउने निर्णय गरेको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अबदेखि बस्ने पार्टी बैठकको नेतृत्व प्रचण्ड‍ले नै गर्नेछन्। यो निर्णयसँगै केपी शर्मा ओली नै बाँकी कार्यकालको प्रधानमन्त्री रहने भएका छन्।
‘अध्यक्षद्वय कमरेडहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयताताक्रम यथावत राखिएको,’ बैठकपछि प्रवक्ता श्रेष्ठले पत्रकारहरुसँग भने, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने निर्णय भएको छ।अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने निर्णय सचिवालयले गरेको छ।’ सचिवालयले बैठकको अध्यक्षता संयुक्त रूपमा गर्ने निर्णय लिएको छ। तर बैठक सञ्चालनको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे।
‘बैठक संयुक्त अध्यक्षतामै बस्‍नेछ। तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्नुहुनेछ,’ श्रेष्ठले अगाडि भने। संसद्को यो कार्यकाल अर्थात् पुरै ५ वर्ष सरकारको नेतृत्व केपी शर्मा ओलीले नै गर्ने छन्। यसअघि पार्टी एकताका क्रममा आधा आधा कार्यकाल सरकार चलाउने सहमति भएको दाबी अध्यक्ष दाहालले गर्दै आएका थिए।
सरकार र पार्टी सञ्चालन दुवै अध्यक्षको सहमतिमा हुने भएको छ। बैठकले मन्त्रिपरिषद् हेरफेरको विषय भने टुंग्याएन। यससम्बन्धी निर्णय सचिवालयले नगरेपछि अहिले दुवै अध्यक्षबीच बालुवाटारमा बैठक भइरहेको छ। पार्टी महासचिव विष्णु पौडेलले सरकार छाड्ने र सरकारमा जानेहरुको नाम तयार भइसकेको जनाउँदै त्यसलाई अन्तिम रुप दिन अहिले दुई अध्यक्ष बालुवाटारमा बसिरहेको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!