खेलले व्यक्तिलाई अनुशासित, गतिशील र सिर्जनशील बनाउँछ ः प्रमुख पौडेल - News site from Nepal

पर्वत, – जिल्ला ह्याण्डबल संघ पर्वतको प्रथम साधारणसभा कुश्मामा सम्पन्न भएको छ । ह्याण्डबल खेलको माध्यमबाट जिल्लाको खेल क्षेत्रलाई अघि बढाउने उद्देश्यले स्थापना भएको जिल्ला ह्याण्डबल संघको साधारणसभाले पुनः राजेन्द्र पहाडीको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको हो ।
साधारणसभाको उद्घाटन सत्रका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका प्रमुृख मनोहर विश्वकर्मा पौडेलले खेलले व्यक्तिलाई अनुशासित, गतिशील र सिर्जनशील बन्न उत्प्रेरित गर्ने भएकाले ह्याण्डबल खेलको माध्यमबाट जिल्ला ह्याण्डबल संघका गतिविधिहरुले जिल्लामा सकारात्मक सन्देश प्रवाहित भएकोमा प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले यस साधारणसभाले जिल्ला ह्याण्डबल संघलाई जुझारु र सक्षम नेतृत्व चयन गर्ने विश्वास पनि प्रकट गर्नुभयो ।
प्रथम साधारणसभाले पहाडीको अध्यक्षतामा ज्ञानेन्द्रकुमार जोशी उपाध्यक्ष, रमेश श्रेष्ठ सचिव, केदारकुमार कर्माचार्य कोषाध्यक्ष, राजेश कुमाल सहसचिव र निलराज पुरी, दिनेश श्रेष्ठ, डम्बर गिरी, टंकलाल भुषाल, गोविन्दप्रसाद श्रेष्ठ, उत्तमकुमार कर्माचार्य, प्रकाश कर्माचार्य र नारायण कुमाल सदस्य रहेको नयाँ कार्यसमिति निर्वा्चित गरेको छ । यसैगरी सल्लाहकारहरुमा बिष्णुप्रसाद नेवार, जगदिश कुँवर, हिमबहादुर पौडेल क्षेत्री, प्रेम गुरुङ, लेखनाथ उपाध्याय, मनोहर वि पौडेल, गणेश गिरी, युवराज जोशी र इन्द्रमान खत्री रहनुभएको संघका सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो । यसअघि साधारणसभाको बन्दशत्रले जिल्ला ह्याण्डबल संघका सचिव निलराज पुरीले प्रस्तुत गरेको साङ्गठनिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन तथा अध्यक्ष राजेन्द्र पहाडीले प्रस्तुत गरेको प्रस्तावित आगामी कार्ययोजनालाई सुझावसहित पारित गरेको थियो ।
जिल्लामा विसं. २०७२ सालमा जिल्ला ह्याण्डबल संघको तदर्थ समिति गठन भएको थियो । नवनिर्वा्चित अध्यक्ष राजेन्द्र पहाडीले निर्वा्चित समितिले जिल्लाको ह्याण्डबल खेललाई नयाँ उचाईमा पु–याउने गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै साधारणसभा सम्पन्न गर्न सहयोग गर्नका लागि साथ र समर्थन दिने सबैलाई संघको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!