यस्तो छ दुर्घटनाग्रस्त बसका चालक र सहचालकको बयान ‘बसको जब स्टेयरिङ घुमेन..’ - News site from Nepal

पर्वत /चालकले स्टेयरिङ घुमाउँदा नमोडिएपछि म्याग्दीको बेनीबाट बिहीबार बिहान नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा–१ मालढुंगामा सडकबाट खस्न पुगेको देखिएको छ ।

चालकले घुमाउन खोज्दा पनि स्टेरिङ नमोडिएपछि ग१ख ६१०८ नम्बरको बस सडकबाट करिब ६० मिटर तल कालीगण्डकी किनारमा खसेको हो । घटनास्थलमै ३ जनाको र उपचारक्रममा अञ्चल अस्पताल बागलुङमा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३३ घाइते छन् ।

पोखरा–बागलुङ राजमार्गका विभिन्न स्थानमा सडक निर्माण भइरहेकाले १० बजेदेखि आवागमन बन्द हुने गरेको छ ।

बिहीबार उक्त समयअगावै बाटो काट्न तीव्र गतिमा गुडेको बस सन्तुलन गुमाएर नदीमा खसेको प्रहरीको अनुमान छ । घटनामा घाइते सहचालक अमिर क्षत्रीका अनुसार चालकले बस तीव्र गतिमा चलाएका थिए । यात्रुले विस्तारै चलाउन आग्रहसमेत गरेको क्षत्रीले बताए । क्षत्रीको हात भाँच्चिएको छ । चालक तिलक पराजुलीको ढाड भाँच्चिएकाले उपचारका लागि पोखरा लगिएको छ ।

चालक पराजुलीका अनुसार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको बसका लागि बेनी काउन्टरमा १४ यात्रुले टिकट लिएका थिए । बस छुटेलगत्तै पर्वतबेनी बजारमा केही यात्रु चढे । पर्वतबेनीदेखि मालढुंगासम्म १२ किमि दूरीमा पनि यात्रु चढे । सिट क्षमताभन्दा बढी यात्रु थिए ।

‘पोखरा–बागलुङ सडक खण्डको मोदी गाउँपालिकामा पर्ने बेतेनीदेखि कास्कीको नयाँपुलसम्म १० बजेपछि ६ घण्टा सडक जाम हुने भएकाले त्यो समयअघि नयाँपुल कट्नुपर्ने थियो,’ उनले भने, ‘सडक साँघुरो र केही घुमाउरो थियो । बल गरेर घुमाउँदा पनि स्टेयरिङ मोडिएन, कामै गरेन । अगाडिका दुवै पाङ्ग्रा नियन्त्रणबाहिर गए अनि बस खस्न पुग्यो ।’ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पराजुलीको टाउको र ढाडमा चोट छ ।

पोलमाठोक्किँदै खस्यो
गाडीमा काम गर्न आएको दुई दिन मात्र भयो । पोखरा पुग्ने सडक धेरै ठाउँमा भत्काएर फराकिलो बनाउँदै छन् । जाम कटेपछि ढुक्कले जान पाइन्छ भनेर गुरुजीले गाडी हुइँक्याउनुभएको थियो । मालढुंगा नजिकै पुगेपछि गाडी अनियन्त्रित भयो ।

सडक छेउका पोलमा ठोक्किँदै जान थालेपछि सबै यात्रु आत्तिए । कतिपयले हल्ला पनि गरेका थिए । छेउका १०र१२ वटा पोल ढालेपछि गाडी भीरबाट खस्यो । म ढोकाबाट हाम्फालें । हात भाँच्चियो । बस ढुंगामा ठोक्किँदै कालीगण्डकी किनारमा पुग्यो । सकी–नसकी तल झरेर हेर्दा गुरुजीको ढाड भाँच्चिएको रहेछ । एकैछिनमा गाउँले जम्मा भए ।

केहीबेरमै प्रहरी आएर बसभित्रका घाइतेको खोजी गर्न थाले । घटनास्थलमै तीन जनाको मृत्यु भएको रहेछ । घाइते रोइकराइ गर्दै थिए । कोही बोल्न नसक्ने अवस्थामा थिए । प्रहरी र स्थानीय मिलेर मसहितका घाइतेलाई बागलुङ अस्पताल पठाए । हात भाँच्चिएकाले प्लास्टर गरेर आराम गरिरहेको छु ।
अमिर क्षत्री, ९सहचालक
कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!