पर्वत– ः राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ ।
शनिवार गृह जिल्ला पर्वत आउनुभएका अध्यक्ष तिमिल्सिनाले विभिन्न योजनाहरुको अनुगमन गर्दै जिल्लामा संचालित भौतिक पुर्वाधार निर्माणका योजनाहरु समयमै सम्पन्न गर्न र तोकिएको मापदण्ड र गुणस्तरमा कुनै तलमाथि नगर्न निर्देशन समेत दिनुभएको हो । अबका दिनहरु मुलुकको आर्थिक समृद्धि र विकास निर्माण गर्ने भएकाले चालु योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न र शुरु हुन नसकेका योजनाहरुलाई तत्काल शुरु गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभएको हो । उहाँले कुनैपनि बहानामा बिनीयोजित रकम र संघ, प्रदेश र स्थानीय सरकारवाट संचालित भएका योजनाहरुमा ढिलासस्ती गर्न नपाईने बताउँदै अध्यक्ष तिमिल्सिनाले जति छिटो काम सम्पन्न भयो उतिनै निर्माण पक्ष र राज्य पक्ष दुवैलाई दोहोरो फाईदा पुग्ने बताउनुभयो । ]
अध्यक्ष तिमिल्सिनाले आफु लामो समयदेखि पर्वतको विकासका बारेमा चिन्तित र सक्रिय समेत रहेको बताउँदै भन्नुभयो,– ‘तपाईहरु काम गर्नुहोस् बजेट ब्यवस्थापनको जिम्मा म लिन्छु ।’ उहाँले साना योजनाहरु स्थानीय सरकारबाट, मध्यम खालका प्रदेश सरकारवाट र ठुला योजनाहरु संघीय सरकारले हेर्ने भएकोले तीनै तहको समन्वय र सहकार्यबाट जिल्लाको समग्र विकासलाई गति दिनुपर्ने पनि बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले अबको पाँच वर्षमा पर्वतमा विकास निर्माणले काँचुलि फेर्ने बताउँदै त्यसका लागि आम नागरिकले पनि तल्लो तहदेखिनै खबरदारी गर्नुपर्ने बताउनुभयो ।
योजनाहरु गुणस्तरीय हुनुपर्छ, तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ भन्ने विषयमा सरकार जिम्मेवार भएर लागेको बताउँदै अब ठेक्का ओगट्ने र विभिन्न बहानावाजी बनाएर काम नगर्ने प्रबृति त्याग्न पनि आग्रह गर्नुभएको छ । विकास निर्माणका योजनाहरुमा राम्रो काम गर्नेलाई राज्यले सम्मान गर्ने र नराम्रो काम गर्नेलाई कारवाहि गर्ने भएकाले सोहि अनुसार दिन दोगुना, रात चौगुना देखिने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले विकास निर्माण कामा अबरोध नपु¥याउन समेत आग्रह गर्नुभएको छ ।
अहिलेको सरकार विगतमा जस्तो परिवर्तनशिल नभएर स्थायी भएकाले पनि अबको पाँच वर्षमा मुलुकको तीब्र रुपमा विकास हुनेमा कुनै आशंका व्यक्त नगर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले अबको पाँच वर्षमा पर्वतका सवैजसो बाटाहरु कालोपत्रे हुने, घर घरमा खानेपानीका धारा पुग्ने लगायत आधारभूत आवश्यकता पुर्ति भएको जिल्लाको रुपमा विकास हुने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले गण्डकी प्रदेशकै नमुना सडक आयोजना कुश्मा– मोदीवेणी सडक, कालीगण्डकी लोकमार्ग अन्तर्गत मोदीखोलामा निर्माणाधिन मोटरेबल पुल र कुश्मामा निर्माणाधिन अत्याधुनिक सेवा सुविधासहितको अस्पताल भवनको निरिक्षण गर्नुभएको हो । सडकको बारेमा नेकपाका नेता तथा निर्माण समितिका अध्यक्ष मेघनाथ सुवेदी र अस्पतालका बारेमा अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी गराउनुभएको थियो ।
यस अघि अध्यक्ष तिमिल्सिना पर्वतको फलेवास स्थित गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको घरमा पुगेर चार दिन अघि दिवंगत हुनुभएका मन्त्री लम्सालका दाजु थानेश्वर लम्सालको परिवारलाई समवेदना प्रकट समेत गर्नुभएको थियो । उहाँले दिवंगत लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जिल्लाको समग्र अवस्थाका बारेमा अध्यक्ष तिमिल्सिनालाई जानकारी गराउनुभएको थियो ।