मन्त्री लम्साल भन्नुहुन्छ ः ‘हामीसंग सम्पदा छन बिक्री गर्न सके पर्यटक बढ्छन’ - News site from Nepal

पर्वत– पर्वत जिल्लाको कुश्मा नगरपालिका स्थित वार्ड नं. ८ चुवामा रहेको लालेश्वर गुफा पुग्न पद मार्ग निर्माण शुरु भएको छ।
दुई बर्ष अघि देखि ब्यबस्थित गर्न थालिएको लालेश्वर गुफा सम्म पुग्नका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा पदमार्ग निर्माण शुरु गरिएको हो । पदमार्ग निर्माण कार्यको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले बिहीबार शिलन्यास गर्नुभयो ।
अहिले सम्म बारीको डिल र खेतबाट गुफा पुग्नुपर्ने अबस्थामा नयाँ पदमार्ग निर्माण थालिएको लालेश्वर गुफा संरक्षण समितिले जनाएको छ । मन्त्रालयको ७ लाख सहयोगमा चुवा चक्रपथ देखि गुफा सम्म पदमार्ग निर्माण गरिने समितिका अध्यक्ष कृष्णप्रसाद सुबेदीले जानकारी दिनुभयो। ‘पदमार्ग निर्माणपछि त्यहाँ सम्म पुग्न सहज हुनेछ’ उहाँले भन्नुभयो ‘पदमार्ग संगै गुफा भित्र अन्य ब्यबस्थापनका काम समेत गर्ने लक्ष्य लिएका छौ’
झण्डै ३ सय मिटर लामो उक्त गुफा भित्र विभिन्न देवि देवताका आकृति, बथेको पानी र अन्य मनमोहन दृश्यहरु छन् । सानो दुलोको रुपमा देखिने गुफा संरक्षणका लागि स्थानियले चासो देखाएपछि दुई बर्ष अघि ठुलो गुफाको रुपमा भेटिएको थियो । अहिलेसम्भ पहिचानको अभावमा ओझेलमा परेको लालेश्वर गुफा संरक्षणका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन मन्त्री बिकास लम्सालले दिनुभयो ।
शिलन्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लम्सालले हामी संग प्रशस्त सम्पदा भएपछि प्रचारप्रसार र उचित हिसाबले ब्यबस्थापन गर्न नसक्दा ओझेलमा परिरहेका बताउनुभयो । ‘हामी संग प्रशस्तै सम्पदाहरु छन’ उहाँले भन्नुभयो ‘पर्यटनको बिकास गर्न यस्ता सम्पदाहरुलाई बिक्री योग्य बनाउन सक्नुपर्छ’ पर्यटक आउन पुर्वाधार बनाउन जरुरी रहेको उहाँको भनाई थियो । कुस्मा र आसपासको पर्यटकीय क्षेत्रलाई जोडेर पोखरा पछिको पर्यटकीय गन्तब्य बनाउन पहल भैरहको जानकारी दिदै मन्त्री लम्सालले पोखरा पछि पर्यटकीय गन्तब्य बनाउने आश्वासन पनि दिनुभयो । दामोदर कुण्ड देखि त्रिबेणी सम्मको कालीगण्डकी नदी किनारमा धार्मिक र अन्य पर्यटकीय संभावना भएकोले यसलाई बिकास गरिने उहाँको भनाई छ । प्रदेश सरकारले भारतमा रहेका चार धाम जस्तै कालीगण्डकी किनार क्षेत्रमा १० धामको बिकास गर्ने लक्ष्य राखेको छ ।
पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बनेपछि माउन्टेन फ्लाइट, प्याराग्लाइडिङ्ग, एक दुई सिटे जहाजहरुको उडान तथा अवतरणको काम बलेवा बिमानस्थलबाट गरिने योजना भएकाले यस क्षेत्रमा पर्यटकीय संभावना बढाउने उहाँको भनाई छ । प्रदेश सरकारको लक्ष्य अनुसार स्थानिय तह र स्थानियबासीले पनि उत्पादनमुलक काममा लगानी गर्न आग्रह गर्दै गरिवी घटाउने र रोजगारी बढाउने खालका उद्यामको बिकास गर्न आवश्यक छ भन्नुभयो ।
लालेश्वर गुफा संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद सुबेदीको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा फलेबास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारी, नेकपाका जिल्ला नेता गोबिन्द पहाडी, कुस्मा नगरपालिका वडा नं ८ का अध्यक्ष राजकुमार क्षेत्री, स्थानिय समाजसेवी तथा नेकपाकी जिल्ला सदस्य मुगा पोखरेलले मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेकपाका स्थानिय नेता हरिनारायण गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!