पर्वतका वडा सदस्यहरुको यस्तो पीर, ‘स्थानीय सरकारले कुनै जिम्मेवारी दिएनन्’ - News site from Nepal

पर्वत–पर्वतको कुस्मा नगरपालिका–१ का वडासदस्य खगेन्द्र रिजालले निर्वा्चित भएपछि भनेका थिए, ‘म मतदाताका लागि काम गर्छु ।’ अहिले उनलाई आफू जनप्रतिनिधि हो कि होइन जस्तो अनुभूति भएको छ ।

जलजला गाउँपालिका–३, माझफाँटकी कोपिला बरुवाल र विष्णु सुनारलाई पनि मतदाताले भोट दिएरै जिताएका हुन् । स्थानीय तहमा हुने विकास निर्माणदेखि हरेक क्षेत्रमा उनीहरूको समान भूमिका हुनुपर्ने हो ।

वडा, नगरपालिका र गाउँपालिकामा हुने हरेक बैठकमा ताली बजाउनेबाहेक भूमिका नपाएपछि वडा सदस्यमा वितृष्णा पैदा भएको छ । निर्वाचनताका उत्साही देखिएका उनीहरू निराश बन्न थालेका छन् । कुस्मा–१ का सदस्य रिजालले वडामा हुने बैठक र बजेट बाँडफाँटमा समान सहभागी हुने गरे पनि यही काम गर्ने भनेर जिम्मेवारी नपाएको बताए । ‘हामी जनताकै भोटले जितेर आएका हौं,’ कुस्मा–७ का परशुराम पुरीले भने, ‘हामीले राखेका कुरामा सबैले छलफल गरेर अघि बढ्नुपर्ने हो, भनेजस्तो भएकै छैन ।’

पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामा ६१ वडा छन् । हरेक वडामा ५ जना सदस्य छन् । ‘हरेक परिवारमा महिलाको भूमिका कमजोर हुन्छ,’ जलजला–३ की बरुवालले भनिन्, ‘राजनीतिमा सक्रिय भए पनि महिलाका कुरा सुन्ने र निर्णय लिने संस्कार छैन ।’ महिला सक्षम नभएका कारण निर्णायक तहमा कठोर भएर बोल्न नसकेको उनले बताइन् । आरक्षण कोटामा निर्वा्चित महिलाको सहभागिता उपस्थितिका लागि मात्रै भएको उनको गुनासो छ ।

दलित कोटाबाट निर्वा्चित उम्मेदवारहरू आफ्नो भूमिका र जिम्मेवारीका विषयमा अनभिज्ञ छन् । ‘हाम्रो भूमिका के भन्ने थाहा छैन,’ जलजला–३ का विष्णु सुनारले भने, ‘बैठकमा बोलाए जाने हो । नत्र घरकै काममा व्यस्त हुन्छु ।’ डकर्मी काम गर्दै आएका उनले वडा सदस्यले पाउने पारिश्रमिक कति हो, कहिले–कहिले पाइन्छ थाहा नभएको बताए । वडा कार्यालय र गाउँपालिकाका सबै बैठकमा समेत बोलाउने नगरिएको उनको गुनासो छ ।

कतिपय वडामा कर्मचारी र वडाध्यक्षले नीतिगत निर्णय गर्ने गरेको सदस्यहरूको गुनासो छ । बिहादी–२, बर्राचौरका शिव कुँवरले महत्त्वपूर्ण निर्णयबारे समेत वडा सदस्यले जानकारी नपाउने बताए । ‘वडाध्यक्ष र कर्मचारी मिलेर अरू जनप्रतिनिधिलाई पाखा लगाउने काम भइरहेको छ,’ उनले भने, ‘हामीले चित्त बुझाउने अवस्था छैन । जनताको मतले विजयी भएकाले हामीले पनि जवाफ दिनुपर्छ ।’

कतिपय वडामा भने वडाध्यक्ष र सदस्यहरू समान भूमिकामा छन् । कुस्मा–७ का सदस्य निलराज पुरीले हरेक निर्णयमा वडाध्यक्ष बराबरकै भूमिका रहेको बताए । हस्ताक्षर अध्यक्षको चल्ने भएकाले कतिपय कुरामा चाहेर पनि हच्किनुपर्ने अवस्था रहेको उनले बताए । नगर कार्यपालिकाले भने रायसुझाव लिएरै कामकाज गर्दैआएको उनले बताए ।

इकान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!