आज भानुजयन्ती - News site from Nepal
आज भानुजयन्ती

काठमाडौं  : असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ।  
आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको थियो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो।  उनले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा ढालेका थिए। रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।  जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। उनको निधन १९२५ मा भएको थियो। 
भानुजयन्तीको अवसरमा भानु नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन्। विभिन्न विद्यालयमा पनि भानुभक्तका रचना पाठ गरिँदैछ। नेपाललगायत भारतमा नेपालीभाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेषकिसिमले मनाइन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari