पर्वत– आफ्नो वडाको काम लिएर बुधवार जिल्ला प्रशासन कार्यालयमा आउनुभएका महाशीला –५ का वडा अध्यक्ष जीवन विक्रम उच्चैले आफ्नो रक्तचाप, सुगर, लगायतको परिक्षण प्रशासन कार्यालयमै गराउनुभयो । अनि दंग पर्दै भन्नुभयो, अस्पतालको सेवा पनि प्रशासनबाटै ! कस्तो अचम्म सिडीओसाप !
उहाँ मात्र हैन विहादी गाउँपालिकाबाट आएका अर्का सेवाग्राही अमृत शर्माले पनि आफ्नो स्वास्थ्य चेकजाँच प्रशासन कार्यालयमै गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँहरु जस्तै दर्जनौ सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण प्रशासन कार्यालयमै हुन थालेको छ ।
विभिन्न कामका लागि प्रशासन कार्यालयको सेवा लिन आउने सेवाग्राहीहरुले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि जानकार हुन सकुन भन्ने उद्धेश्यले संचालन गरिएको स्वास्थ्य परिक्षण सुविधा प्रभावकारी बन्दै गएको छ । कतिपय कागपत्र नमिलेका कारण, कतिपय अन्य झण्झटिलो कामका कारण रिसाउने, झर्कने, उच्च रक्तचापका कारण बिरामी पर्ने, बेहोस हुने जस्ता लक्षणहरु देखिन थालेपछि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले यस्तो सेवा दिन शुरुवात गर्नुभएको हो ।
बजारमा थुप्रै मेडिकल, निजि अस्पताल र एउटा सरकारी अस्पतालको सुविधा भएपनि प्रशासनमा दैनिक सयौको संख्यामा आउने सेवाग्राहिलाई लक्षित गरी यो सेवा शुरु गरिएको छ ।
नागरिकता, राहदानी, भारतीय पेन्सन सम्वन्धि कार्य, नाता प्रमाणीत, विभिन्न सार्वजनिक अपराधका मुद्धाहरु लगायतका कामले प्रशासनमा सेवाग्राही आउने गर्दछन् । जिल्लाका अन्य सरारकारी कार्यालय भन्दा बढि सेवाग्राहीको चाप हुने कार्यालय भएकाले सेवाग्राहिहरुलाई आकस्मिक रुपमा आईपर्ने स्वास्थ्य सम्वन्धि समस्याको तत्काल समाधान गर्ने उद्धेश्यले यो सेवा शुरु गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रभावकारी हुँदै गएकाले साताको शनिवार बाहेकका सवै दिन स्वास्थ्य परिक्षण सुविधा दिईने प्रयास थालिएको छ ।
स्वास्थ्य परिक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला कारागारमा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । स्वास्थ्यकर्मीहरुले सेवाग्राहिको ब्लड प्रेसर चेकजाँच, सामान्य रुघाखोकी, ज्वरो, चोटपटक लगायतको तत्काल उपचार गर्नेछन् भने बेहोस हुने तत्काल आइपर्ने जटिल रोगका लागि उचित किसीमको सेवा सल्लाह र सुविधा प्रदान गर्ने जिल्ला कारागारका स्वास्थ्य सहायक धनकुमारी पुनले बताउनुभयो । प्रशासन कार्यालयले साताा जति दिन स्वास्थ्य परिक्षणको आवश्यकता महसुस गर्छ त्यति दिन युनिटनै खडा गरेर नियमित स्वास्थ्य परिक्षणमा जुट्ने गरेको पुनको भनाई छ ।
यता प्रमुख जिल्ला अधिकारी ढकालले प्रशासन कार्यालमा आउने सुत्केरी तथा साना बालबच्चा भएका महिलाहरुलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष समेत निर्माण गर्नुभएको छ । अहिले निर्माणाधिन अवस्थामा रहेकाले केहि दिनमै सुचारु हुने छ । निकट भविष्यमै सुविधासम्पन्न भवनमा सर्दै गरेकाले नयाँ भवनबाट कार्यालय संचालनमा आएपछि व्यवस्थित स्तनपान कक्ष पनि संचालन गरिने ढकालले जानकारी दिनुभयो । स्वास्थ्य परिक्षण सेवा र स्तनपान कक्ष समेत संचालनमा आएपछि सवै किसीमका सेवाग्राहिहरुलाई सेवा लिन र दिन पनि सहज भएको उहाँको विश्वास छ ।