पर्वतको फलेबासमा प्रथम मेयरकप शुरु - News site from Nepal
पर्वतको फलेबासमा प्रथम मेयरकप शुरु

पर्वत / पर्वतको फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम शुक्रबार देखि फलेबासको माझीगाउँ चौर खेल मैदानमा तामझामका साथ शुरु भएको छ । 
खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी भन्ने मूल नाराका साथ वैशाख २७ देखि २९ गतेसम्म संचालन हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले उद्घाटन गर्नुभयो । 
स्थानिय संस्कृति, झाँकी, मार्चपास र बाजा गाजा सहित कार्यक्रम भब्यताका साथ शुरु भएको छ। प्रतियोगितामा नगरपालिका भित्रका १५ वटा विद्यालय र ११ वटै वडाको सहभागिता रहेको छ । नगर भित्र रहेका खेल प्रतिभाहरुको खोजी गर्ने तथा उनीहरुलाई अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, सेभेन ए साइड फुटबल आयोजना गरिएको छ । एथलेटिक्स र भलिबल तर्फ बिद्यालयहरुले प्रतिष्पर्धा गर्ने छन भने सेभेन ए साइड फुटबल प्रतियोगितामा वडास्तरीय फुटबल क्लबहरुका बिचमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गण्डकी प्रदेशका हरेक पालिकामा एक एक वटा सुबिधा सम्पन्न रंगशाला निर्माण गर्ने लक्ष्य रहेको बताउँदै खेलकुद र खेलपर्यटनलाई प्राथमिकता राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताउनुभयो । उहाँले माझीगाउँ चौरलाई खेलमैदान र रंगशालाको रुपमा बिकास गर्न आगामी बर्षको बजेट देखि नै कार्यक्रम शुरु गरिने आश्वासन समेत दिनुभयो । प्रतिनिधीसभाका सदस्य पदम गिरीले खेलकुदको बिकासबाट युवाहरुमा अनुशासन र कर्तब्य प्रति इमान्दारीता बढाउने भएकाले यस्ता प्रतियोगिताहरु आवश्यक भएको कुरामा जोड दिनुभयो । 
राष्ट्रपती रनिङ शिल्ड र प्रथम मेयर कप खेलकुद प्रतियोगिता कै सन्दर्भ पारेर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीका बीच मैत्रीपूर्ण फूटवल खेल समेत सम्पन्न भएको छ । मैत्रीपूर्ण खेलमा कर्मचारीले जनप्रतिनिधीलाई १ः० गोल अन्तरले बिजय हासिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari