
२६ चैत्र, पर्वत । जिल्लाको विहादी गाउँपालिकाले आगामी आर्थिक बर्ष भित्र काठे पोल विस्थापीत गर्ने गरी अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडाहरु भित्रका काठेपोल विस्थापीतको अभियान सञ्चालन गरेको हो । चालु आर्थिक बर्षमा सांसद पदम गिरीले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत ३० लाख रुपैंया उक्त कार्यका लागि विनियोजन गरेका छन । उक्त रकमबाट कुल १ सय ५२ वटा फलामे पोल गाउँपालिकाले खरिद गरीसकेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थीका अनुसार पोल गाउँपालिकामा आउने क्रम जारी छ । केहि दिनपछि ति पोलहरु वडाहरुमा वितरण हुनेछन । काठे पोलका कारण विद्युत दुर्घटनाको गाउँपालिका भित्रका वडाहरुमा उच्च जोखिम रहेको छ । काठका पोलहरु भाँच्चिन सक्ने र केहि पोलहरु भाँच्चिएका छन । गाउँपालिका अध्यक्ष कमल भुषालले कार्यपालिकाबाट नै काठे पोल मुक्त बनाउने गरी निर्णय गरी काम भईरहेको बताए । उक्त कार्यका लागि गाउँपालिकाले सहयोगी निकायहरुसंग समन्वय र सहयोगको अपेक्षा गरेको अध्यक्ष भुषालको भनाई छ ।
पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत आवश्यक पोल संख्याको तथ्यांक आएपछि आगामी बर्ष भित्रमा काठे पोल विस्थापीतका लागि आवश्यक बजेटको प्रवन्ध गर्ने प्रतिबद्धता आएको भुषालले जानकारी दिए । निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार गाउँपालिकाको बजेटबाट सम्भव नभए आफूले विहादी गाउँपालिका काठे पोल विस्थापीत सहितको गाउँपालिका बनाउने अभियान सम्पन्न गर्ने सांसद गिरीको समेत भनाई छ । गाउँपालिका भित्रका ६ वटा वडाहरुका धेरै बस्तीहरुमा काठे पोलका कारण जोखिम कायम छ । सामुदायिक विद्युतीकरण मार्फत विद्युत सेवा लिईरहेका वस्तीहरुमा पोलको समस्या अधिक रहेको प्रशासकीय अधिकृत पन्थीले बताए ।