सन्तोष थापा÷पर्वत-
‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने नाराका साथ फागुन २४ गते फलेवास नगरपालिका पर्वतमा आयोजित १०९ औँ अन्तर्रा्ष्ट्रिय महिला दिवसको सन्दर्भमा सरोकारवालाहरुले महिलाहरु समाजको परम्परागत सोचकै कारण माथि उठ्न नसकेको धारणा व्यक्त गरेका छन् ।
फलेवास नगरपालिका महिला बालबालिका शाखा र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजना शुक्रबार सम्पन्न भएको अन्तक्र्रिया तथा पर्वत जिल्लामा महिला अधिकारको अवस्था विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरु अझै पनि सामाजिक कुरिति र परम्परालाई त्यागेर माथि उठ्न नसकेको बताउँदै महिला अधिकारका निम्ति सवै एकजुट हुन आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले महिलाहरु सक्रिय नभएकै कारण घर परिवार, समाज देखि राष्ट्रिय स्तर सम्म विभेद खेप्नुपरेको वर्तमान अवस्थालाई औल्याउँदै आफ्नो अधिकार प्राप्तिका लागि महिलाहरु आफै एकजुट हुनुपर्ने बताए । उनले पछिल्लो समयमा राज्यले अबलम्बन गरेको नीतिले महिलालाई माग र आवश्यकता अनुरुप अधिकार प्रत्यायोजन गरेको कुरा प्रष्टाउँदै उक्त अधिकार प्राप्तिका लागि महिलाहरु आफै मुलधारमा आउन आग्रह गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख मञ्जु अधिकारीले परम्परागत रुपमा सिकेका कुराहरु अझैपनि ब्यवहारमा लागु भइरहेकाले महिला अधिकार सहज रुपमा कार्यान्वयन हुन नसकेको बताइन् । ‘भान्छा रोटी पकाउँदा भाच्चिएका रोटी आफ्नो भागमा पारेर खाने नारीहरु अझै पनि त्यही अवस्थामा छन्’ उनले भनिन् ‘अब भाँच्चिएका रोटी खाएर बस्ने होइन, नेतृत्वमा कसरी आउने भन्ने तर्फ सोच्नुस्’ उनले नारीहरु घर परिवार र समाजका कुसल प्रशासक भएको समेत बताइन् ।
कार्यक्रममा पर्वत इन्सेक प्रतिनिधि सन्तोष थापाले गत सन् २०१८ मा पर्वत जिल्लामा महिला माथि हुने सवै खाले भेदभाव, दुव्र्यबहारका घटना सम्बन्धि जानकारी गराउँदै महिला अधिकारका सवालहरुमा भएका कानुनी अधिकारको बारेमा जानकारी दिएका थिए । सन् २०१९ मा प्रकाशित मानवअधिकार बर्ष पुस्तकमा आधारित रहेर थापाले पर्वत जिल्लामा महिला अधिकारको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उनले विगतमा भन्दा वर्तमान समयमा महिलाहरु आफ्नो अधिकार प्रति सचेत बन्दै गएको बताउँदै न्यायिक तथा अर्ध न्यायिक निकायहरुमा महिलाहरुको गुनासो र उजुरी बढेको कुरा समेत जानकारी गराए ।
कार्यक्रममा सहभागी महिलाहरुले नगरपालिकाले महिलाका क्षेत्रमा विनियोजन गरेको बजेट र कार्यान्वयनका विषयमा छलफल गरेका थिए । उपप्रमुख मञ्जु अधिकारीले प्रस्तुत गरेको कार्यपत्रका आधारमा महिलाहरु अन्तरक्रिया समेत गरेका थिए । कार्यक्रममा नगरकार्यपालिका सदस्य अमृता काफ्ले, ब्रम्हाकुमारी विश्वविद्यालय फलेवासकी सञ्चिालिका जानकी, महिला बालबालिका शाखाकी तेजकुमारी शर्मा लगायतले बोलेका थिए ।