बझाङ – नचिनेका मान्छेको समूहको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा आउनु भएको छ ।
बझाङका प्रहरी नायव उपरीक्षक प्रविण धितालले प्रदेश सांसद मल्ल अहिले आफूहरुको सम्पर्कमा आएको उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
मल्ललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले अपहरण गरेको बताइएको छ । शुक्रबार बिहान सांसद देवकी मल्लको सैसुबाट अपहरण भएको थियो ।
केही दिन अघि मात्रै विप्लव समर्थक अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सम्मेलनमा राज्यले अवरोध पुर्याएको, महिला सांसद भएर पनि निर्मला हत्या प्रकरणमा आवाज नउठाएको र नेकपाकी केन्द्रीय अध्यक्ष बिन्दु चन्दलाई गिरफ्तार गरेको र उनलाई तत्काल रिहाइ गर्नु पर्ने भन्दै सांसद मल्ललाई अपहरण गरेको विप्लव निकट स्रोतले जनाएको छ ।
तर सांसद मल्ललाई कसले र किन अपहरण गर्यो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक धितालले बताउनुभयो ।
मल्ल विथ्थड चिर गाँउपालिकाले आयोजना गरेको नारी दिवसको कार्यक्रममा सहभागी हुन विथ्थडचिर गाँउपालिकाको सैसु भन्ने ठाँउ जाने क्रममा उहाँ अपहरणमा पर्नु भएको हो ।
मल्ल बझाङ (ख) बाट गएको प्रदेशसभा चुनावमा तत्कालीन माओवादीबाट विजयी भएकी हुनु भएको थियो ।