अपाङ्गताले छेकेन मनिलाललाई शिक्षकपनि उद्यमी पनि - News site from Nepal
अपाङ्गताले छेकेन मनिलाललाई शिक्षकपनि उद्यमी पनि

पर्वत : एक वर्षअघिसम्म पर्वतमा हुने सानाठूला मेला महोत्सवमा एउटा पात्र टुप्लुक्क देखिन्थे। सालको पातबाट बनेको टोपी र स्टकोट लगाएका, बाँसका खपेटाबाट बनाइएको फितामा सालकै पातबाट सियोले सिलाएर बनाइएको झोला भिरेका हुन्थे उनले।
उनको खल्तीमा बाँस र निगालोबाट बनाएर नेपालको राष्ट्रिय झन्डा कोरेको डटपेन हुन्थ्यो। मेला महोत्सवमा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि बनेर आएकाहरूलाई निगालोबाट बनेको कलम उपहार दिन्थे उनी। यी पात्र हुन पर्वतको कुश्मा नगरपालिका ११ शिल्मी घर भएका मनिलाल पौडेल। मनिलालको मुख्य पेसा शिक्षण हो।
उनी स्थानीय विश्वज्योति माध्यमिक विद्यालयको प्रावि तहको राहत कोटामा रहेर १० वर्षदेखि शिक्षण पेसामा आबद्ध छन्। तर उनको परिचय शिक्षकभन्दा उनको हातमा भएको कलाबाट माथि उठेको छ। मनिलाल सरलाई आजभोलिका मेला महोत्सवमा देख्न पाइँदैन। हुन त उनी १५ वर्षको हुँदा नै देब्रे खुट्टामा लागेको ‘बोन ट्युबरक्लोसिस’ का कारण शल्यक्रिया गर्दा खुट्टा छोटो भएको कारण खासै हिँड्न पनि सक्दैनन्। तर हिँड्न सक्ने भए पनि आजभोलि महोत्सवमा गएर आफूले उत्पादन गरेका सामग्री प्रदर्शन गर्न छाडेका छन्। एक वर्ष अगाडि पर्वतको एउटा महोत्सवमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि थिए। प्रचण्ड र अरू अतिथिलाई कलम उपहार दिन तथा सालको कोट र झोला देखाउन उनी स्टेजमा जान निकै प्रयास गरे। आयोजकले वास्ता खासै गरेनन्, जसोतसो स्टेजमा पुग्नलाग्दा सुरक्षाकर्मीले अवरोध गरे। आफ्नो परिचय दिएपछि प्रचण्डको छेउमा पुगेर एक दिन लगाएर बनाएको कलम त दिए तर प्रचण्डले एक बचन पनि उनलाई त्यो कलमको बारेमा सोधेनन्।
मनिलालले दिएको कलम साधारण थिएन, तर मञ्चमा घरेलु सीप र जाँगरको पक्षपोषण गर्दै भाषण गर्ने नेताले त्यही घरेलु उत्पादन हातमा थमाउँदा पनि नदेखे जस्तै गरे। त्यसपछि उनलाई मञ्चमा गएर ठुला मान्छेलाई आफ्नो उत्पादनबारे जानकारी दिन मन लाग्न छोड्यो।  २२ वर्षदेखि उनले बाँसबाट निर्माण हुने सामग्रीहरू डटपेन, टूथपिन राख्ने बक्स, टिस्यु पेपर राख्ने बक्स, कलमदानी, फूलदानी, बाँस र नेपाली कागजबाट बनाइएको डायरीलगायतका वस्तुहरूको उत्पादन गर्दै आएका छन्। उनले विदेशी वस्तुको आयात राम्रो मान्दैनन् यही कारण स्वदेशी वस्तु त्यसमा पनि काम नलाग्ने भनी फालिएका बाँस र निगालोको प्रयोग गरेर सामग्री बनाउँछन्। दिउँसोमा विद्यालय जाने मनिलाल सर बिहान-बेलुका र बिदाको दिनको सदुपयोग गरेर हस्तकलाका सामग्रीहरू बनाउँछन्।
अपाङ्गता भएका उनले घरको काम गर्न सक्दैनन्। उनकी श्रीमती घरको काम गर्छिन् भने उनी हस्तकलाका सामग्री बनाउन नै व्यस्त हुन्छन्। मनिलाल सरले बनाएको कलम र अन्य सामग्रीहरू काठमाडौंको ठमेल र पोखराको लेकसाइडमा पनि बिक्री हुने गरेका छन्। केही भने म्याग्दी, बागलुङ र पर्वतमा बिक्री हुन्छ। हातबाटै बनाइएका कारण ती सामग्रीको मूल्य बजारमा चलेका सामानभन्दा केही महँगो त पर्ने नै भयो। तर बिचौलियाका कारण उनी समस्यामा परेका छन्। उनले एउटा कलमलाई डेढ सय रुपैयाँमा बिक्री गर्छन्। तर त्यही कलमलाई पोखरा र काठमाडौंमा पसलेहरू पाँच सय रुपैयाँमा बिक्री गर्छन्।
जसका कारण मनिलाल सरलाई महँगो भएको गुनासो आउँछ।  उनी भन्छन्, ‘स्थानीय बजार छैन, बाहिर नपठाई हुँदैन, बाहिर पठाउँदा बिचौलियाले मज्जाले कमाउँछन्, मलाई केही छैन। ग्राहकले महँगो मानेर नकिन्दा मैले बजार पाउन सकेको छैन।’ उनले आफ्नो सामग्रीको प्रचारप्रसार र बजार प्रवर्द्धनको लागि जिल्लाका थुप्रै सरकारी कार्यालय पनि चहारेका छन्। तर उनको सहयोग र सुझाव कमै पाएका छन्। मनिलाल दुखका साथ भन्छन्- ‘नेपालमा जे गरे पनि केही नहुँदो रहेछ। सरकारी निकायदेखि ब्यपारीसम्म सबैले आफ्नो स्वार्थ हेर्छन्। 
म अपाङ्ग कहाँ कसरी डुलेर बजार खोजौँ?’ उत्पादित सामग्रीले बजार नपाउँदा उनले आजभोलि अर्डरअनुसारका वस्तुहरू मात्र उत्पादन गर्छन्। यसबाट उनले महिनामा २५ हजार रुपैयाँसम्म कमाउँछन्। तर यो कमाइ उनको मिहिनेत भन्दा धेरै कम हुन्छ। मनिलाल सरका हातबाट बनेका सामग्रीको चर्चा निकै छ। त्यसैले पनि आजभोलि उनकै घरमा पुगेर सामान किन्ने अनि सालको पातबाट बनेका कोट र टोपी लगाउँदै झोला भिरेर सेल्फी खिच्नेको पनि उस्तै भिड छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!