
पर्वत–ः नेपाली कांग्रेसका नेता महेश आचार्यले वर्तमान सरकार लोकतन्त्र बिरोधी भएको आरोप लगाउनुभएको छ ।
नेपाली काँग्रेस पर्वतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै आचार्यले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीलाई लगाएको प्रतिबन्धलाई लोकतन्त्र विरोधीको संज्ञा दिनुभएको हो । आचार्यले राजनीतिक दललाई प्रतिबन्ध लगाउने कामबाट लोकतान्त्रिक मूल्यमान्यतामा चोट पुग्ने बताउँदै एउटा दललाई लगाउन खोजेको प्रतिबन्ध सँगै अन्य धेरै मूल्यमान्यता पनि तोडिन सक्ने खतरा भएको टिप्पणी गर्नुभयो ।
‘सशस्त्र द्वन्द्वको बेला माओवादी दर्ता गरेको पार्टी थिएन, तर गिरिजाप्रसाद कोइरालाले राजीनितिक व्यवहार गर्नु भएको थियो’ आचार्यले भन्नुभयो, ‘राजनीतिक रुपमै द्वन्द्वको समाधान गरेकोले देशमा शान्ति प्रक्रिया अगाडि बढेको हो ।’ राज्यका क्रियाकलापबाट टाढिएको दललाई बिच्काएर नभई राजनीतिक छलफल र सहमतिबाटै शान्ति प्रक्रियामा ल्याउन उहाँले सुझाव पनि दिनुभयो । पूर्व अर्थ मन्त्री समेत रहनुभएका आचार्यले सरकारले संविधानका धाराहरुमा रहेका नियमावली कुल्चेर काम गर्न थालेको आरोप समेत लगाउनुभयो ।
आचार्यले महासमिति बैंठकमा भएका सम्झौताहरु कार्यान्वयन गर्न सभापतिसंँग बसेर समाधान गर्न आफु सक्रिय हुने बताउँनुभयो । निवार्चनमा हार्दैमा काँग्रेसका कार्यकर्ताहरु अतालिनु नपर्ने बताउँदै स्थानीय तह, भातृ तथा सुभेच्छु संस्थामा रहेका नेता तथा कार्यकर्ताहरु संगठन बिस्तार गर्न गाउँगाउँ जानुपर्ने समय आएको बताउनुभयो ।