मोहन विक्रम र चित्रबहादुरलाई पनि नेकपामा ठाउँ छ –प्रचण्ड - News site from Nepal
मोहन विक्रम र चित्रबहादुरलाई पनि नेकपामा ठाउँ छ –प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सबै मिलेर सशक्त बनाउनुपर्ने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा विभिन्न दलबाट नेकपा प्रवेश गर्ने नेता तथा कार्याकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनकै संकटपूर्ण आन्दोलनबाट मुलुक शान्ति प्रक्रियामा आएको र नयाँ संविधान जारी भएको भन्दै त्यसलाई जोगाउन सबै एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले कम्युनिस्ट विचारधारा बोकेर अघि बढ्ने सबै शक्ति एक ठाउँमा हुनुको विकल्प नरहेको र त्यो चाँडै पूरा हुने पनि दाबी गरे । ‘हामीले शान्ति प्रक्रियाको अन्त्यन्तै संकटपूर्ण अवस्थालाई सफलतापूर्वक सम्पन्न गरेका छौं,’ प्रचण्डले भने, ‘हाम्रो आन्दोलनले मूर्त रुपमा पाएको छ । अहिले पनि खाटो बसेको ठाउँलाई चिथोरेर क्यान्सर बनाउने काममा केहि शक्ति लागेका छन् । उनीहरुबाट जोगिनु आवश्यक छ ।’
अध्यक्ष प्रचण्डले सबै नेकपामा गोलबद्ध हुँदा नेकपालाई चिथोर्न खोज्नेलाई सशक्त प्रतिकार गर्ने जवाफ मिलेको पनि बताए । आफ्नै स्कूलिङमा रहेका नेताहरुलाई पार्टीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै प्रचण्डले घर छोडेर गएको छोराछोरी फर्कँदा सबैभन्दा रमाइलो र प्यारो लाग्ने रहेछ भन्ने स्मरण पनि सुनाए । उनले भने, ‘अन्य ठाउँबाटै परिवर्तन होला भनेर साथीहरु बाहिर जानुभएको थियो । अहिले आएर झल्याँस्स हुनु भएको छ । ढिलै भए पनि उहाँहरुले सही निर्णय गर्नुभयो । अहिले दुई ठूला कम्युनिस्ट मिलेर एक भएका छौं । दुई धारा एकै भएका छौं । दुई विद्यालय मिलेर विश्व विद्यालय भएका छौं । अब जे हुन्छ कम्युनिस्ट पार्टी कै नेतृत्वमा हुन्छ ।’
सबैलाई स्वागत गर्न आतूर
अध्यक्ष प्रचण्डले कम्युनिस्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई नेकपामा स्वागत गर्न आफू आतूर रहेको बताएका छन् । उनले पूराना नेताहरुलाई पनि एकताबद्ध गरेर अघि बढ्न चाहेको भन्दै मोहन विक्रम सिंह, चित्रबहादुर केसीलाई कसरी सम्मान गर्दा कम्युनिस्ट आन्दोलन अघि बढ्ला भन्ने सोचिरहेको बताए । नेपालको कम्युनिस्ट आन्दोलनसँग जोडिएका सबैलाई नेकपाले ठाउँ राखेको पनि प्रचण्डले बताए।
‘अब हामी सबै कमरेडहरुलाई छिटोभन्दा छिटो नेकपामा समाहित हुनुहोस भन्न चाहन्छु । मोहन विक्रम सिंह, चित्रबहादुर केसीलाई कसरी सम्मान गर्ने होला ? कसरी सम्बोधन गर्दा उहाँहरु पनि कम्युनिस्ट आन्दोलनमा एकताबद्ध हुने होला भन्ने सोचिरहेको छु,’ प्रचण्डले भने, ‘भक्तपुरमा रहनुहुने रोहित (नेमकिपाका नारायणमान विजुक्छे) पनि यो पार्टीमा हुनुपर्छ भन्ने हो । त्यसका लागि हामीले के गर्नुपर्छ गर्न तयार छौं । अब सबै मिलेर विकास र समृद्धिका लागि अघि बढ्नुपर्छ ।’
मोहन बैद्यलाई पनि आफूले सम्झाउन खोजिरहेको प्रचण्डले बताए । उनले भने, ‘सञ्चारकर्मीले प्रचण्डका गुरु भन्ने मोहन बैद्य प्रति पनि मेरो सम्मान छ । तर, उहाँलाई कसरी सम्झाउने भन्ने मेरो चिन्ता छ ।’ उनले विप्लवलाई पनि नेकपा भित्रै रहेर आफ्ना योजना पूरा गर्न आग्रह गरे ।
‘प्रचण्डले बाटो बिरायो हामी सही बाटोमा छौं भनेर विप्लवहरु अहिले एउटा बाटोमा हुनुहुन्छ । त्यो पनि उहाँहरुले गल्ती गर्नुभयो कि जस्तो लाग्छ,’ प्रचण्डले भने, ‘उहाँले नेकपा भित्रै बसेर आवाज उठाएमा आन्दोलन सार्थक हुन्छ भन्ने मेरो बुझाई हो ।’ डा.बाबुराम भट्टराईको बौद्धिकता पनि नेकपा बाहिर गएर सार्थक नहुने प्रचण्डले बताए । उनले भने, ‘बाबुराम जीको बौद्धिकता अन्त कतै गएर सकारात्मक परिवर्तन होला जस्तो लाग्दैन । उहाँको पीएचडीको महत्व रहने भनेको कम्युनिस्ट आन्दोलनमा मात्रै हो ।’
प्रचण्डले सबै कम्युनिस्ट विचार बोक्नेलाई नेकपाले स्वागत गर्ने र कम्युनिस्ट सोचलाई सँधै सम्मानसहित नेकपाले अघि बढाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!