पर्वतका कतिपय जनप्रतिनिधिहरुको मेहनत यस्तो पनि ………..!! - News site from Nepal
पर्वतका कतिपय जनप्रतिनिधिहरुको मेहनत यस्तो पनि ………..!!

पर्वत / बिहान–बेलुका गाईगोठ र खेतबारीमै व्यस्त हुने सुवासचन्द्र पौडेल ठीक १० बजे वडा कार्यालय पुग्छन्  । कुश्मा नगरपालिकाका १४ वडामध्ये हरेकजसो कार्यक्रममा समयमा पुग्ने र जिम्मेवारी लिएको काम समयमै सक्ने वडाध्यक्षमध्ये पर्छन् उनी  ।
उनको पशु फर्ममा अहिले २१ गाई–भैंसी छन् । उनले यो व्यवसाय सुरु गरेको १० वर्ष भयो । विद्यार्थीकालदेखि नै कृषिमा रुची राखेका उनलाई पशुपालन गर्न विवाहपछि सहज भयो । ससुरालीको साथ पाएपछि श्रीमती र ससुरालीकै सहयोगमा यो क्षेत्रमा लाग्ने प्रेरणा मिलेको र आफूलाई राजनीतिक सफलता पनि यही पेसाले दिएको सुवासले बताए । पशु फर्ममा दुईजना कर्मचारी राखेका उनी कर्मचारीसँगै काममा खट्छन् । उनीहरू बिदामा बस्दा करिब सय लिटर दूध बजारमा आफैं पुर्‍याउँछन् । पौडेलकै अगुवाइमा कुश्मा आसपासमा १५ साना–ठूला पशु फर्म खुलेका छन् । ती फर्मबाट दैनिक ४ सय लिटर दूध बजारमा आउँछ ।
गतवर्षदेखि सुवासले आफ्नै वडाका वडासदस्य नीलराज पुरीलाई साथ लिएर १५ रोपनीमा व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । कुश्मा–७ खरेहामा सुरु गरेको कृषि फर्ममा ११ वटा अत्याधुनिक ‘हाइटेक टनेल’ निर्माण गरेका छन् । पुरी र वडाध्यक्षको कृषि फर्ममा अहिले विभिन्न बेमौसमी तरकारीहरू लहलह छन् । उनीहरूकै अगुवाइमा वडालाई कृषिमा आत्मनिर्भर बनाउने अभियान सञ्चालन भएको छ । उनीहरूले गत वर्ष वडाका हरेक किसानलाई उन्नत जातको तरुल र तरकारीका बिरुवासमेत वितरण गरेका थिए । ‘हरेक परिवारले आफूले खाने तरकारी मात्रै बनाउन सके धेरै पैसा बच्छ,’ पौडेलले भने, ‘तरकारीमा बाहिरिने पैसाले अरू काम गर्न सकिन्छ ।’ अझै पनि हरियो तरकारीमा भारतको भर पर्नुपर्ने बाध्यतालाई हटाउन यस्तो अभियान चलाइएको उनले बताए ।
८ वर्ष साउदी र दुबईमा बिताएका कुश्मा–७ दुर्लुङचोकका नीलराज पुरी १३ वर्षअघिदेखि व्यावसायिक कृषिमा संलग्न छन् । थोरै जमिनलाई उपयोग गरेका उनले तरकारीका बिरुवा र गँड्यौले मल बिक्री गरेर मात्रै वार्षिक पाँच लाखसम्म आम्दानी गर्दैआएका थिए । यसअघि एक रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका उनले एक रोपनी जमिनमा बिरुवा लगाएरै यो आम्दानी गर्दैआएका हुन् । ‘सानैदेखि कृषिमा लाग्ने सोच थियो,’ पुरीले भने, ‘केही वर्ष खाडीमा बिताएँ । संयोगले त्यहाँ पनि कृषि फर्ममै काम गर्ने मौका मिल्यो । तरकारीमै लाग्ने सोचेर घर फर्केको हुँ ।’ २ वर्षअघि भएको स्थानीय निर्वाचनमा वडा सदस्यको उम्मेदवार बनेका उनी विजयपछि यो पेसामा थप हौसला मिलेको बताउँछन् ।
‘नेताहरूले भाषणमा माक्रै कृषि त्रान्तिका कुरा गरेर हुँदैन,’ संयुक्त कृषि फर्ममा भेटिएका वडाध्यक्ष पौडेलले भने, ‘भाषणमा भनेका कुरा आफैंबाट सुरु गर्नुपर्छ भनेर फर्म सञ्चालन गरेका हौं । दुवैजनाको विगतको अनुभवले सफल भइन्छ ।’ धेरैजसो जनप्रतिनिधिले चुनाव जितेपछि ठेक्कापट्टा, डोजर, एक्साभेटरमा लगानी गरिरहेका बेला आफूहरूले माटो सुहाउँदो व्यवसाय अपनाएको उनीहरूको दाबी छ ।
पौडेल र पुरीजस्तै साँझ–बिहान खट्छन्, कुश्मा–२ की वडा सदस्य शान्ति कुमाल । कुश्मा–२ अर्मादीकी ३७ वर्षीया कुमाल पनि तरकारी व्यवसायबाटै आफ्नो परिवार धानिरहेकी छन् । सानै उमेरमा विवाह गरेकी कुमालले ६ वर्षअघि दुर्घटनामा पति गुमाएकी थिइन् । पति वियोगको घटनासँगै स–साना २ छोरालाई हुर्काउन समस्या भएपछि तरकारीलाई आम्दानीको मुख्य स्रोत बनाइन् । उनका दुई छोरामध्ये एउटाले स्नातक र अर्काले कक्षा १० मा पढदै छन् । तरकारी र पशुपालनबाटै दुई छोराको पढाइ र अरू घरखर्च धान्दै आएकी उनलाई अहिले भने बिहान–बेलुका छोराहरूले सघाउँछन् ।
घरदेखि वडा कार्यालयसम्म पुग्न पैदल २ घण्टा लाग्छ । घरधन्दा भ्याएर पनि उनी वडाका सबै कार्यक्रममा सहभागी हुन्छिन् । वडाध्यक्ष यदुनाथ शर्मा बास्तोलाका अनुसार वडाका सबैजसो महिला समूह र व्यवसायमा लाग्न चाहनेहरूलाई उनले सल्लाह दिन्छिन् ।
गाऊँका हरेक कार्यक्रममा सत्रियता देखाएकै कारण कुमाललाई स्थानीय तहको निर्वाचनमा महिलाहरूले नै उम्मेदवार बनाएका थिए । राजनीतिलाई पेसा बनाउन नहुने यी पौरखी जनप्रतिनिधिको आवाज छ । चुनावका बेला मतदातालाई ठूल्ठूला आश्वासन देखाएर मत तान्नुभन्दा आफ्नो सीप र क्षमता अनुसारका काम गरेर प्रभावित पार्नुपर्ने कुश्मा–२ की वडा सदस्य कुमालले बताइन् ।
‘म एकल महिला हुँ भन्ने सबैलाई थाहा थियो,’ उनले भनिन्, ‘मलाई राजनीतिमा खासै रुची थिएन । मतदाताले मलाई इमान्दार देखेरै पत्याउनुभयो । उहाँहरूले गरेको विश्वास नै मेरो राजनीति हो ।’ कुश्मा–७ का वडा सदस्य पुरीले वैचारिक राजनीतिभन्दा आफूले सर्वसाधारणलाई दिने सन्देशले ठूलो प्रभाव पार्ने बताए । ‘अबको राजनीति भाषणले होइन कामले गर्ने हो,’ उनले भने, ‘हामी आफूले गरेर देखाउन सके अरू त्यसै प्रभावित हुन्छन् ।’

कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!