पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे घुम्न किन जाने ? यस्ता छन् मुलुककै नमुना आकर्षणहरु - News site from Nepal

पर्वत — कास्की, स्याङ्जा र पर्वत जिल्लाको सीमा उचाइ २ हजार ५ सय १७ मिटरमा अवस्थित छ— पञ्चासे ।वरपरका लेक–बोसीमा लहराउने सुनजस्तै पहेंला धानबारी, फेरि सुनजस्तै देखिने पाकिरहेकाविशाल सुन्तलाका बगँैचा र हराभरा पाखा–पखेराले पञ्चासेलाई सुशोभित तुल्याएका छन् । जैविक विविधता, सांस्कृतिक मौलिकता र प्राकृतिक सौन्दर्यले पञ्चासे निकै धनी छ ।

आसपासका बस्तीमा पाइने न्यानो आतिथ्य र अझ विशेषगरी कास्की–भदौरे, तामागी, पर्वत–चित्रे, डाँडाखर्कतिर प्रचलित गुरुङ संस्कृति झल्कने नाचगान, गुरुङ संग्रहालयले झनै नौलो अनुभूति दिलाउँछ । लोकल खानपान, मितव्ययी गाउँले र उनीहरूको आत्मीय आतिथ्य यहाँको ब्रान्ड हो ।


पारिपट्टि आँखैसामु देखिने अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमशृंखलाले पञ्चासेलाई थप शोभा बढाएका छन् । मौसम खुलेको दिन उत्तरपट्टि लस्करै उभिएका यी हिमचुचुरा हेर्दा त्यहाँ पुग्ने जोकोहीलाई मनको भारी बोझ बिसाएजस्तै शीतल हुन्छ ।

पञ्चासेमा हेर्नलायक ठाउँ थुप्रै छन् । डाँडैमा छ सिद्धबाबा मन्दिर । मन्दिरसँगै बडेमानको ढुंगा खोपेर सन्त–महात्माहरूलाई ध्यान बस्न बनाइएको गुफा छ । आडैमा सन्तकुटी छ, जहाँ अहिले पञ्चासे बाबा राजेन्द्र महाराज बस्छन् । त्यसको उतापट्टि बुद्धस्तूपा छ । र, त्यसको केही माथि गुरुङ हिल छ । त्यही हिलमाथि बाइसे–चौबीसे भुरे राज्यको भग्नावशेष छ । र, त्यसको केही तलतिर छ– पञ्चकोसी ताल, जहाँ बाराही मन्दिर पनि छ । त्यहाँ विशेषगरी बालाचतुर्दशीका दिन शतबीज छर्ने मेला लाग्छ ।

जंगल बीचमा रहेको करिब ३ सय ५० मिटर लामो पञ्चकोसी तालले पनि पञ्चासेको गरिमा बढाएको छ । मुहान र पानीको निकास नदेखिने त्यो ताल रहस्यमय आवृत्तिमा फैलिएको छ । तालसँगैको बाराही मन्दिर अझ प्रेमिल लाग्छ । बिछोडिएका प्रेमी–प्रेमिकाले यहाँ पूजा गरे पुनर्मिलन हुने जनविश्वास छ । यो स्थलमा प्राचीन च्यावन ऋषि र पौराणिक कालमा पाँच पाण्डवले तपस्या गरेको किंवदन्ती सुनिन्छ । यसैगरी श्रवणकुमारसमेत यस क्षेत्रमा आएर बसेको भन्ने जनविश्वास स्थानीयमा छ । विशेष चाडपर्वमा हजारौं दर्शनार्थीको भीड लाग्ने यहाँ अन्य समयमा चाहिँ दैनिक पचासदेखि सय जति पर्यटक पुग्ने गरेको सन्त बाबा राजेन्द्र महाराज बताउँछन्।


शरद ऋतु सुरु भएसँगै पञ्चासेमा मीनपचास (चिसो) बढ्न थाल्छ । पञ्चासेलाई आधार बनाई यहाँबाट पाँच मुख्य खोला बगेका छन्– फेवातालको मुहान हर्पनखोला, रती, जहरे, आँधीखोला र सेतीखोला । यो क्षेत्र ५ हजार ५ सय ५० हेक्टरमा फैलिएको ठूलो वनक्षेत्रले ढाकिएको छ । यसले पनि पञ्चासेमा मीनपचास हुनु स्वाभाविक बनाइदिएको छ । पञ्चासे क्षेत्रमा १ सय १३ सामुदायिक वन छन् । ती वनमा हजारभन्दा बढी प्रकारका जैविक विविधता रहेको सुनाखरीमा विद्यावारिधि गरेका अनुसन्धानकर्ता आविष्कार सुवेदीको दाबी छ । यस क्षेत्रलाई लालीगँुरास तथा सुनाखरीको ‘राजधानी’ भन्दा पनि फरक पर्दैन । १ सय ७ प्रजातिका सुनाखरी यहाँ पाइन्छन् । त्यस्तै, अति दुर्लभ मानिएको लौठसल्ला र दुर्लभ छत्रे उन्युसमेत यहाँ पाइन्छ ।

गुरुङ समुदायका अतिरिक्त मगर, बाहुन, क्षत्री, विश्वकर्मा, परियारजस्ता विविध जातजातिको साझा फूलबारी पनि हो— पञ्चासे । यस वरपरका गाउँमा यिनै जातजातिको साझा बसोबास छ । हिजोआज पञ्चासेलाई नै आधार बनाई ती बस्तीमा धमाधम होमस्टे (घरबास) सेवा सुरु भएका छन् । पर्यटकलाई गाउँलेहरू आफ्नै उत्पादनका अर्गानिक खानेकुरा खुवाउँछन् । पञ्चासे डाँडामै बस्न रुचाउनेका लागि करिब दुई दर्जन पाहुना अटाउन सक्ने पाहुना घर बनाइएको छ ।


पछिल्लो समय बेलायती युवराज चाल्र्सले समेत भ्रमण गरेको ‘रोयल ट्ेरेक’ हुनुले पनि पञ्चासे विदेशीमाझ निकै लोकप्रिय छ । पर्यटकका लागि लक्षित गर्दै अहिले त्यहाँसम्म पुग्ने बाटोघाटो र होटललगायतका पूर्वाधार निर्माणमा स्थानीयहरू आफैं अघि बढेका छन् ।


पञ्चासे पुग्न कास्कीको फेवाताल, पामे, भदौरे, तामागी, सिराने, घाँटीछिना हुँदै जान सकिन्छ । कास्कीकै लुम्ले–काँडे, भदौरे र देउराली हुँदै पनि पञ्चासे पुग्न सकिन्छ । यस्तै, पर्वतको डिमुवा, तिलाहार, चित्रे हुँदै पनि पञ्चासे पुग्न सकिन्छ । उता स्याङ्जाको फेदीखोला, बाङ्गेफड्के, वाङसिङ भएर पनि प्रकृतिको रमणीयतामा घुम्दै पञ्चासे पुग्न सकिन्छ । अहिले पोखरा हुँदै पञ्चासे भञ्ज्याङ र पर्वतको चित्रे, डाँडाखर्कसम्म मोटर बाटो पुगेको छ । यसले पनि त्यहाँ पुग्ने यात्रीलाई सहज भएको छ ।
कान्तिपुर कोसेलीबाट आरके अदिष्त गिरीले लेखेको सामाग्री साभार गरिएको हो

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!