
पर्वत– पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा नगर स्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ ।
दशैँको शुभकामना आदानप्रदान सहित चाडबाडलाई लक्षित गरि सनराईज यूवा क्लवले प्रतियोगिता आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले यूवाहरुमा रहेको खेलकूदको मोह जगाउँदै राष्ट्रिय स्तरमा पर्वतको पहिचान पु¥याउनुपर्ने बताउनुभयो । खेलाडीहरुलाई राष्ट्रिय स्तरको खेलाडी बन्ने चाहना बोकेर अभ्यास गर्न र त्यसका लागि नगरपालिकाले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको नगरप्रमुख जोशीले प्रतिवद्धता जनाउनुभयो ।
कुश्मा नगरपालिकाले आफ्नो क्षमताले भ्याएसम्मको काम गर्दै आएको स्मरण गराउँदै खेलकूदका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि आफ्नो ध्यान रहेको उल्लेख गर्नुभयो । नगर उपप्रमुख सीता काफ्ले लामिछानेले खेलकूदले यूवाहरुमा सकरात्मक सोच र जाँगर बढाउने भएकाले यस्ता प्रतियोगीताहरु आयोजना भैरहनुपर्ने बताउनुभयो । उहाँले यूवाहरुलाई खेलकूद प्रति आकर्षित गराउन सरोकारवाला जुर्मुराउनुपर्ने लामिछानेले बताउनुभयो । उक्त समारोहमा दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याले दुर्लुङमा खेलकूदको स्तरिय खेलमैदान बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य लेखनाथ पौडेल, स्थानीय कृष्णप्रसाद शर्मा, कमल पौडेल,डण्डपाणी शर्मा लगायतले बोल्नुभएको थियो ।
प्रतियोगितामा १३ टोली सहभागी रहेको सनराईज यूवा क्लवका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता यहि असोज १९ गते सम्म सञ्चालन गर्ने क्लवले जनाएको छ ।