मन्त्री लम्साल द्धारा कुश्मा मोदीवेणी सडकको अनुगमन,काम सन्तोष जनक रहेको भनाई - News site from Nepal


गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कुश्मा मोदीवेणी सडकको अनुगमन गर्नुभएको छ ।
बुधबार उक्त सडकको अनुगन गर्दै उहाँले सडकको काम समयमै सम्पन्न गर्न र तोकिएको मापदण्ड बमोजिम निर्माण गर्न आग्रह गर्नुभयो । यद्यपी काम सन्तोषजनक रहेको उहाँको भनाई थियो । उहाँले विकास निर्माणका कामका लागि बजेटको अभाव हुन नदिने बताउँदै निर्माणाधिन पूर्वाधाहरु गुणस्तरीय बनाउन जिल्लाका सरोकारवालाहरुले पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
उक्त सडक निर्माण पश्चात लोकमार्ग अन्तर्गत मोदीखोलामा निर्माणाधिन मोटरेबल पुल सम्पन्न भएपछि पर्वतको फलेवास नगरपालिका लगायत दक्षिण क्षेत्रका बासिन्दा सदरमुकाम आउजाउका लागि झण्डै डेढ घण्टा बाटो छोटिने र कृषिउपज बजारिकरणमा समेत सहजता आउने बताउनुभयो । कालीगण्डकी लोकमार्गको ट्रयाक मोदीवेणीदेखि अर्मादीसम्म खोल्न बाँकी रहेका बेला उक्त सडकनै बैकल्पिक मार्गको रुपमा प्रयोग हुनेभएकाले पनि प्रदेश सरकारले उच्च प्राथमिकतामा पारेको बताईएको छ ।

चालु आर्थिक वर्षमा स्तरोन्नति र नाली निर्माणको काम सम्पन्न गर्ने र अर्को आर्थिक वर्षमा कालोपत्र र आवश्यक ठाउँमा ढलान गरेर पुर्ण रुपमा सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाईएको सडक निर्माण समितिका अध्यक्ष मेघनाथ सुवेदीले जानकारी दिनुभयो ।

पर्वत सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी दिब्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नती गर्न थालिएको छ ।
ट्रयाक खुलेर पनि लामो समयदेखि अलपत्र बनेको उक्त सडक चक्ल्याउने र नाली निर्माण गर्ने काम शुरु भएको हो । सडक अभावकै कारण मोदीवेणी दिब्यधाममा जानआउन र उक्त स्थानको भौतिक पूर्वाधार निर्माणमा समेत समस्या परिरहेका बेला सडक स्तरोन्नतीको काम शुरु भएपछि दिव्यधाममा जानआउनका लागि समेत सहज हुने भएको छ । पर्वत जिल्लाको मुख्य शब दाहसंस्कार गर्ने घाटका रुपमा रहेको मोदीवेणीमा दैनिक मलामीहरु जान आउन समेत सहज हुने भएको छ ।
कालीगंगा निर्माण सेवाले बाटो चक्ल्याउने र नाली निर्माणको काम अघि बढाएको छ । झण्डै दुई तीन किलोमिटर लामो उक्र सडक इस्टिमेट अनुसार चक्ल्याउने काम करिब पुरा भएको र केहि ठाउँमा चट्टान काट्नुपर्ने भएकाले ब्रेकर लगाउने तयारी भएको निर्माण समितिले जनाएको छ । सडक निर्माण समितिका उपाध्यक्ष कमल भुसालका अनुसार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा बिनीयोजन भएको रु ५० लाख रुपैयाले स्तरोन्नतीको काम शुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!