
पर्वत । लायन्स क्लव अफ पर्वत चौतारीले बडागाउँ–कैया झोलुङगेपुल छेउमा चौतारी निर्माण गर्न थालेको छ । पर्वत तर्फको पुलको मुखैमा चौतारी निर्माण गर्न आज शिलन्यास गरिएको छ । क्लवले करिव ४ लाख रुपैयाँको लागतमा निर्माणको थालनी भएको हो ।
लायन्स क्लवका को चिफ एडभाईजर काशिकुमार जोशीले विभिन्न क्लवका अध्यक्ष सहितको उपस्थितीमा चौतारीको शिलन्यास गर्नुभयो । पुल हुँदै जिल्लाबाट बाहिरिने र भित्रिने यात्रुहरुलाई विश्राम सुविधा दिलाउन क्लवले चौतारी निर्माण गर्न थालेको हो । चौतारी शिलन्यास कार्यक्रम पछि आयोजित कार्यक्रममा बोल्दै को चिफ एडभाईजर काशीकुमार जोशीले लायन्स क्लव अफ चौतारीले आफ्नो नाम जस्तै चौतारी निर्माण गरेर राम्रो अभियान चलाएको भन्दै प्रसंसा गर्नुभयो ।
उहाँले लायन्स क्लवहरुले एक पछि अर्को सामाजिक अभियान चलाएको बताउनुभयो । चौतारीका संस्थापक अध्यक्ष पर्शुराम पुरीले आफ्नो कार्यकालमा नै चौतारी निर्माण गर्ने योजना बनाइएको र वर्तमान टोलीले उक्त योजना पुरा गर्न लागेकोमा खुशी व्यक्त गर्दै आफुले पनि यो पुनित काममा हातेमालो गर्ने बताउनुभयो ।
कार्यक्रममा पिआरओ डाक्टर चुडामणी शर्मा, रिजन चियर पर्सन सरस्वती भण्डारी, लायन्स क्लव अफ कुश्मा सिटीका अध्यक्ष सरस्वती शर्मा जिज्ञाशु, गुप्तेश्वरका अध्यक्ष हरिओम शर्मा लािमछाने र भुमेकोटका अध्यक्ष नवराज भण्डारीले बोल्नुभयो ।
लायन्स क्लव अफ चौतारीका अध्यक्ष ईश्वरी पाठकले चौतारी निर्माणका लागि लायन्स बाहेक अन्य क्षेत्रबाट पनि आर्थिक सहयोगको बाचा आएको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लव अफ चौतारीका प्रथम उपाध्यक्ष टंकनाथ लामिछाने र सञ्चालन सचिव जानुका शर्माले गर्नुभएको थियो ।