पर्वतको ठूलीपोखरीमा सञ्चालित लिफ्ट खानेपानी योजनामा पानी उपभोगको विषयमा विवाद चुलियो - News site from Nepal

पर्वत : कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा सञ्चालित लिफ्ट खानेपानी  आयोजनाको पानी उपभोग गर्ने विषयमा विवाद भएको छ।  
उपभोक्ता समितिका अध्यक्ष निलाकण्ठ लामिछाने र कर्मचारी अर्जुन पौडलसहितका केही व्यक्तिहरुले उपभोक्तालाई जानकारी नगराइकनै गएको ७ गतेबाट पानीको आपूर्ति बन्द गराएको उपभोक्ताले आरोप लगाएका छन्। पानी बन्द गराएको कुरा भने उपभोक्ता समितिले पनि स्वीकार गरेको छ। आपूर्ति बन्द भएका कारण स्थानीय रोहोटे गाउँका केही घरमा पानीअभाव भएको छ। रोहोटे गाउँका लागि जडान गरिएका पाइपमा यसअघि पनि पटक पटक पानीको आपूर्ति बन्द गर्ने गरिएको उपभोक्ताको भनाइ छ।
 उपभोग गर्दै आएको धारामा पानी नआएपछि कुवामा जमेको पानी खानुपर्ने बाध्यता भएको उपभोक्ता टंकप्रसाद पौडेलले बताए। ‘गाउँमा खानेपानीको योजना सम्पन्न भएपछि आनन्दले पानी खान पाइएला भनेको त फेरि पनि कुवाकै पानी खनुपर्ने बाध्यता भयो’ उनले भने।  योजनामा कुनै समस्या आएको भए उपभोक्तालाई जानकारी गराएर पानी बन्द गर्नुपर्ने उपभोक्ताको भनाई छ। स्थानीय दुर्गाकुमारी शर्मा पौेडेलले प्रश्न गरिन्, ‘अरु टोलमा गएको पानी बन्द नहुने हाम्रो गाउँमा आउने पानीको गेट बल्ब मात्र किन बन्द गरियो? ’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष निलाकण्ठ शर्माले भने मिटर जडान नगरी अरुकै घरमा जोडिएको घरबाट टी जडान गरी पानीको उपभोग गरिएकाहरुको मात्र आपूर्ति बन्द गराएको बताए।
‘पानी उपभोग गर्ने हो भने निजी मिटर जडान गर्नुपर्छ, एक घरमा जडान गरिएको लाइनबाट ‘टी’ हालेर अर्को घरमा पानी खसाल्न नमिल्ने भनेर समितिले निर्णय गरेअनुसार केही टी जोडेर पानी खाएकाहरुको घरमा मात्र आपूर्ति बन्द भएको छ,’ उनले भने, ।
यस्तै, योजनाका प्राविधिक अर्जुन पौडेलले योजनाभित्र समेट्नुपर्ने उपभोक्ताहरुले समेत पानी नपाएको अवस्थामा केही उपभोक्ताले योजनाको चार किल्ला बाहिर परेकालाई पानी बाँडेका कारण केही घरमा पानी बन्द गरिएको बताए।
  लिफ्टको पानी प्रयोग गर्ने उपभोक्ताले मासिक न्यूनतम शुल्क ३०० रुपैयाँ तिर्दै आएका छन् भने पाँच युनिटभन्दा माथिको पानी खपतमा प्रति युनिट थप २० रुपैयाँका दरले शुल्क लाग्ने गरेको छ। उपभोक्ताले खानेपानी आयोजनाको लेखा परीक्षण नभएको र आय व्यय सार्वजनिक नगरेका कारण आयोजनामा आर्थिक हिनामिना भएको हुनसक्ने समेत आशंका गरेका छन्।   ठूलीपोखरीका साविकका वडा नं. ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५६० मिटर तल रहेको मुहानबाट लिफ्ट सिस्टमबाट पानी तानेर उपभोग गर्दै आएका छन्। जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको एक करोड ४६ लाख रुपैयाँ लगानीमा आयोजना सम्पन्न भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!