बिपन्नहरुको साथमा नगरप्रमुख जोशी, तलब काटेर बालबालिकालाई न्यानो कपडा वितरण - News site from Nepal

पर्वत – आफुले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवा सुविधा वापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रवार फेरी अर्को सहयोग हस्तान्तरण गर्नुभएको छ ।

नगर प्रमुख जोशीले सिटी एक्सप्रेससँगको सहकार्यमा कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेको जगदम्बा प्राथमिक विद्यालय र कुश्मा नगरपालिका वडा नं. ५ मा रहेको बालमन्दिर प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जाडो मौसममा विपन्न परिबारका बालबालिकाहरु पनि चिसोबाट बच्न सकुन र जस्तोसुकै अवस्थामा पनि विद्यालय नियमित गर्न सकुन भन्ने उद्धेश्यले न्यानो कपडा वितरण गर्नुभएको हो ।

जोशीले जगदम्वाका २६ जना र बालमन्दिरका २० जना गरी ४६ जना विद्यार्थीहरुलाई एकैदिन कपडा वितरण गर्नुभएको हो । सो अवसरमा बोल्दै आफु सँधै विपन्न र गरिब परिवारको साथमा रहने बताउनुभयो । नगर प्रमुख हुँदैमा नागरिकको पिडाबाट टाढा रहन नहुने बताउँदै नगरप्रमुख जोशीले पाँच वर्ष भित्रमा नगरपालिका भित्रका सवै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सक्रिय भूमिका खेल्ने बताउनुभयो । आफु नगरप्रमुखमा निर्वाचित भएको झण्डै दुई वर्ष पुग्न लागेको बताउँदै समृद्ध नगरपालिकाको निम्ति रचनात्मक कार्यक्रमहरु अघि सारिएको बताउनुभयो । उहाँले नगरको विकासका लागि नगरपालिकाका बासिन्दाहरुले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा खुर्कोटका वडा अध्यक्ष यदुनाथ बास्तोला, अन्य जनप्रतिनिधि, अभिभावक र शिक्षकहरुको सहभागिता पनि थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!