कुश्माबजारबासीले यसरी सडकमै थुपारे फोहोर, नगरपालिकालाई फर्साद - News site from Nepal

पर्वत/विगत तीन सातादेखि पर्वत सदरमुकाम कुश्माबजारको फोहोर उठ्न नसकेपछि बजारबासीले फोहोर थुपारेर मुख्य सडक अबरुद्ध पारेका छन ।
संकलित फोहोर फाल्ने स्थानको अभावमा फोहोर नउठाईदा कुश्माबजार दिन प्रतिदिन दुर्गन्धित बन्दै गएपछि बजारबासीले सडकमै फोहोर थुपारेर बिरोध गरेका हुन ।
बजारको फोहोर फाल्दै आइएको मोदीखोला किनारको भिरमा स्थानिय बड्गाउँचौर सामुदायिक वन उपभोक्ता समुहले अबरोध गरेपछि बजारबासीले सडकमै फोहोर फालेर यातयात अबरुद्ध गर्न बाध्य भएको स्थानियबासी बताउँछन । फोहोर फाल्ने बैकल्पिक ब्यबस्था गर्न लागेको समयमा सामुदायिक वनले खाल्डा खनेर फोहोरको गाडी जान नसक्ने गरि अबरुद्ध पार्दै आएको छ । मंसिर २३ गते देखि वन समुहको अवरोधका कारण फोहोर उठ्न नसकेपछि बजार दुर्गन्धित भैरहेको बाध्य भएर सडकमै फालेको स्थानियबासीको भनाई छ ।
कुस्मा बजारको फोहोरलाई डम्पिङ्ग साइड नचाहिने गरि फोहोर ब्यबस्थापन गर्न कुस्मा नगरपालिका र सामुदायिक स्रोत तथा वातावरणीय बिकास केन्द्र(सेक्रेड नेपाल) बिचसम्झौता भएको छ । कुस्माको फोहोर ब्यबस्थापन गर्नका लागि सिक्रेड संग पाँच बर्षलाई जिम्मा दिइएको छ । तर फोहोर संकलन गर्ने जमिन खरिदमा पटक पटक अबरोध गर्ने र स्थानियबासीलाई बिरोधमा उचाल्ने काम भएपछि बैकल्पिक ब्यबस्थापन समेत हुन सकेको छैन । सिल्मीको फाँट, परादी, चुवाको मोदीखोला किनार र खरेहामा समेत निजी जमिन खरिद गर्न खोज्दा अबरोध भएको नगरपालिकाले जनाएको छ ।‘ बैकल्पिक ब्यबस्था गर्न खोज्दा जमिन नै किन्न नदिने गरि असहयोग भैरहेको छ ’, मेयर रामचन्द्र जोशी भन्छन ‘बैकल्पिक ब्यबस्था नहुने समय सम्म पहिले नै फालिरहेको ठाउँमा फोहोर फाल्नुको बिकल्प छैन ।’ सामुदायिक वनका उपभोक्ता पनि बजारबासी नै भएका कारण फोहोर फाल्न अबरोध नगरि सहयोग गर्न उनले आग्रह गरे ।
कुस्मा बजारको फोहोर अहिले सम्म जंगल र नदी किनारमा फाल्ने अवस्था रहेको छ भने कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाएर संकलन हुँदै आएको छ । घरमै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने ब्यबस्था गर्न लागिएको थियो । घरघरघरबाट उठाएर ल्याएको फोहोर मध्ये कुहिनेबाट कम्पोष्ट मल उत्पादन तथा बिक्री हुने फोहोर बिक्री गर्ने र कतै बिक्री नुहने फोहोरलाई खाल्टो खनेर गाड्ने र बायुमण्डल प्रदुषण नहुने गरि जलाएर नष्ट गर्ने योजना छ ।
बड्गाउँचौर सामुदायिक वन उपभोक्ता समुहले भने वन क्षेत्रमा फोहोर फाल्दा बर्षेनी डढेलो लाग्दै आएको बताएको छ । अध्यक्ष मानकुमारी गिरीले पटक पटक नगरपालिकाले समय माग्ने तर काम नगर्दा बाध्य भएर फोहोर फाल्न रोकेको बताईन । फोहोर फाल्न अबरोध नगर्न स्थानिय प्रशासनले पटकपटक अनुरोध गर्दा पनि वन समुहले इन्कार गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!