तत्कालीन नेकपा एमालेको तर्फबाट सांसद बनेका गिरीले एक बर्षको अवधिमा प्रतिनिधि सभा मार्फत कानून निर्माण कार्यमा आफू सक्रिय रहेको बताए । उनले यो अवधिमा जिल्लाबासीले विकास निर्माणमा अनुभूति गर्ने गरी आफूले काम गरेको दावी गरेका छन ।
पर्वतमा हालसम्म कुनै पनि ग्रामीण सडकहरु कालोपत्रे नभएको दुःखसो जनताले गरीरहेको भन्दै सांसद गिरीले केहि सडकहरु कालोपत्रेको चरणमा पुगिसकेको र केहि सडकहरु कालोपत्रेको प्रक्रियामा रहेको जानकारी दिए । सडक कालोपत्रे, एक घर एक धारा, सिंचाई र कृषि क्षेत्रको विकास, पर्यटन र खेलकुद आफ्नो मुख्य प्राथमिकतामा रहेका क्षेत्रहरुको रहेको भन्दै गिरीले यी सवै क्षेत्रमा आफ्नो कार्यकाल भरी देखिने गरी उपलब्धि हासिल हुने दावी गरे ।
स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य र रोजगार सृजनाका अवसरहरुमा सहयोग गर्न आग्रह गर्दै प्रदेश र संघिय सरकारले ठूला र उपलब्धि देखिने विकासका कामहरुमा सहयोग गर्ने समेत उनले बताए । ‘निर्वाचनको बेला बोलेका कुनै पनि प्रतिबद्धता भुलेको छैन’ सांसद गिरीले भने–‘जिल्लाका मुख्य मुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता पुरा गरेरै छाडिन्छ ।’ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तत्कालीन बामगठन्धनको तर्फबाट साझा एजेण्डा र घोषणा पत्र मार्फत आफूहरु जनतासंग मत मागेको स्मरण गर्दै ति प्रतिबद्धताहरु पुरा गर्न प्रदेश सरकार र संघिय सरकार संवेदनशिल रहेको गिरीले बताए ।
सांसद गिरीले वारीवेनी–बगरफाँट–बाँसखर्क सडक, दोविल्ला–सिल्मी–ठुलिपोखरी सडक, पातिचौर–देउपुर–लप्सिबोट सडक, डिमुवा–तिलाहार–राम्जादेउराली सडक, घुम्ति–लाम्पाटा–पाङ सडक र अर्मादी–खुर्कोट–बनौ सडक निर्माणको चरणमा गईसकेकाले केहि बर्षमा यी सडक पुरा हुने विश्वास दिलाए । उनले प्रदेश सभा क्षेत्र न २ अन्तर्गत रहेका लमायखोला–लुंखु सडक, मु्डिकुवा–लमायखोला सडक समेत निर्माणकै चरणमा रहेको भन्दै प्रदेश सभा क्षेत्र न २ मा बाँकी सडकहरु समेत कालोपत्रेको चरणमा छिट्टै लगिने स्पष्ट पारे ।
सांसद गिरीले क्षेत्र न १ अन्तर्गत रहेका वारीवेनी–माझफाँट–लेकफाँट सडक, मिलन चोक–लेकफाँट–शालीजा सडक, मिलनचोक–धाइरिङ सडक कुश्मा–दुर्लुङ–क्याङ–सडक, सहस्रधारा–तार ततरकोट– बनौ सडक, पातिचौर–बाजुङ–क्याङ सडक, साइकलचोक–ठुलिपोखरी–खौला सडक, दोविल्ला–पकुवा–गगटे–आर्थर सडक कालोपत्रेको चरणमा लैजान प्रदेश र संघिय सरकारमा आफूहरुले पहल गरीहेको समेत जानकारी दिए ।
यसैगरी सांसद गिरीले क्षेत्र न २ अन्तर्गतका चिसापानी–हातेमालो चोक–बर्राचौर सडक, लुंखु–पाखापानी–भोर्ले–हुवास सडक कार्किकेटा–थापाठाना–शंकरपोखरी–खानीगाउँ–जैमिनी सडक दोविल्ला–फलेवास ढिक सडक, लुंखु मिलनचोक–बालाकोट–होश्राङदी सडकलाई पनि आफूहरुको कार्यकालमा कालोपत्रे जसरी पनि गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे । संघ र प्रदेशको प्राथमिकतामा राखिएका यी मुख्य सडकहरु कालोपत्रे हुनेमा उनले विश्वास दिलाए ।
हालसम्म झण्डै २४ प्रतिशत घरधुरीले मात्र एक घर एक धारा अन्तर्गत खानेपानीको प्रयोग गरीरहेको भन्दै अवको ४ बर्षमा अधिकांश जनसंख्याले एक घर एक धारा मार्फत स्वच्छ पिउने पानी खान पाउने गरी जिल्लामा काम भईरहेको उनले संकेत गरे । पर्यटन प्रवद्र्धन, खेलकुद ग्रामको स्थापनामा समेत आफूले पहल गरीरहेको गिरीको भनाई छ ।
संसदमा जिल्लाको सघन प्रतिनिधत्व भएको भन्दै जिल्लाका सवै विकास निर्माणका कामहरुको सुपरीवेक्षण गर्दै रोकिएका र अवरुद्ध भएका मोटरेवल पुलहरुको कामहरुमा समेत तिव्रता दिने गरी आफूले पहल गरीरहेको गिरीको भनाई छ । उनले देविस्थान–कुर्घा जोड्ने लमायखोला पुल, भुरुङदीखोला मोटरेवेल पुलको कामलाई तिव्रता दिन आफूले फिल्डमै पुगेर निर्माण पक्ष र कार्यालयलाई निरन्तर दबाव दिईरहेको उल्लेख गरे ।
यसैगरी नयाँपुल शेरावेसी मोटरेवल पुल, झाप्रेबगर मोटरेवल पुल, सेदी खोला मोटरेवल पुल हुवास, कल्लेरी मोटरेवल पुलको काम पनि क्रमशः अगाडि बढाउने गरी योजना गरिएको गिरीको भनाई छ ।
प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई जनताले दिएको मतको दुरुपयोग नहुने गरी जनतालाई नै सम्झेर जनताको काममा लागि परेको गिरीले जानकारी दिए । सांसद गिरीले निकटम प्रतिद्धन्द्धीलाई १२ हजार ४ सय ५६ मतान्तरले हराउँदै प्रतिनिधि सभामा विजयी भएका थिए । आजकै दिन प्रतिनिधि सभाको मतदान भएकाले गिरीले आजकै दिन एक बर्षको समिक्षा तथा भावी योजनाहरु प्रस्तुत गरेका हुन ।