पर्वत- गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले आर्थिक वर्ष २०८३/८४ का स्वीकृत कार्यक्रमअन्तर्गत कुल १ करोड १० लाख रुपैयाँ बराबरका अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै जिल्लाका किसान, फर्म, कम्पनी, समूह, समिति तथा सहकारी संस्थाबाट आवेदन आह्वान गरेको हो।
कार्यालयका अनुसार व्यवसायिक पशुपालनलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले गाई–भैँसी, भेडा–बाख्रा, बंगुर, कुखुरा, माछा तथा डेरी व्यवसायसँग सम्बन्धित नौवटा कार्यक्रम सञ्चालन गरिनेछन्। कार्यक्रमका लागि सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।
कार्यक्रमअन्तर्गत कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत नश्लका पाडी–बाच्छी हुर्काउने किसानका लागि १० लाख रुपैयाँ, बृहत् पशु विकास प्रवर्द्धन कार्यक्रमका लागि १८ लाख रुपैयाँ, उत्पादनका आधारमा दूधमा प्रोत्साहन कार्यक्रमका लागि ३० लाख रुपैयाँ, कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि १० लाख रुपैयाँ, फार्म यान्त्रिकीकरणका लागि ५ लाख रुपैयाँ, डेरी तथा मासु पसल निर्माण तथा सुधारका लागि २ लाख रुपैयाँ, कालीगण्डकी करिडोर केन्द्रित फलोअप कार्यक्रमका लागि १० लाख रुपैयाँ, बृहत् पशु विकास प्रवर्द्धन कार्यक्रमको फलोअपका लागि १५ लाख रुपैयाँ तथा मध्यपहाडी करिडोर केन्द्रित पशुपन्छी व्यवसाय प्रवर्द्धन कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
कार्यक्रमअनुसार विभिन्न शीर्षकमा २५ प्रतिशतदेखि ९० प्रतिशतसम्म अनुदान उपलब्ध गराइनेछ। आवेदनका लागि परियोजना प्रस्ताव, नागरिकताको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्र, प्यान, कर चुक्ता प्रमाणपत्र, जग्गाधनी प्रमाण वा लिज सम्झौता, वडा तथा स्थानीय तहको पशु सेवा शाखाको सिफारिसलगायतका कागजात अनिवार्य गरिएको कार्यालयले जनाएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार अनुदान कार्यक्रमले जिल्लामा व्यवसायिक पशुपालन विस्तार, उत्पादन वृद्धि र किसानको आयआर्जन बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।