प्रमुख समाचार

देवानगञ्ज घटनाप्रति पर्वतका नागरिक समाज र पेशागत संस्थाको संयुक्त अपिल

By लोकतन्त्र अनलाईन

July 30, 2026

पर्वत, साउन १४ – सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै पर्वतका विभिन्न नागरिक तथा पेशागत संस्थाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी शासन कायम राख्न संयुक्त अपिल जारी गरेका छन्। गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत, नेपाल पत्रकार महासंघ पर्वत, नागरिक समाज सञ्जाल पर्वत, नेपाल बार एसोसिएसन पर्वत, मानव अधिकार संगठन पर्वत तथा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपाल पर्वतले संयुक्त रूपमा जारी गरेको अपिलमा देवानगञ्ज घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। अपिलमा नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, आस्था र विश्वास स्वतन्त्र रूपमा अवलम्बन, अभ्यास र संरक्षण गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै कुनै पनि विवादको समाधान हिंसा वा कानुन हातमा लिएर नभई संवाद, सहिष्णुता र विधिको शासनमार्फत हुनुपर्नेमा जोड दिइएको छ। संयुक्त विज्ञप्तिमा यस्ता घटनाले सामाजिक सद्भाव, पारस्परिक विश्वास र राष्ट्रिय एकतामा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयमता अपनाउन, अपुष्ट तथा भ्रामक सूचना नफैलाउन र सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । त्यसैगरी, नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यही विविधता राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै आपसी सम्मान, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वलाई थप सुदृढ बनाउन सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याइएको छ। संयुक्त अपिलमार्फत नेपाल सरकार तथा सम्बन्धित निकायसँग देवानगञ्ज घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरिएको छ। उक्त अपिलमा नागरिक समाज सञ्जाल पर्वतका संयोजक माया अधिकारी, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल बार एसोसिएसन पर्वतका अध्यक्ष दीपक सुवेदी, मानव अधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वतका अध्यक्ष आशिष पौडेल तथा महासंघका सचिव वलिनारायण रेग्मीले हस्ताक्षर गरेका छन्।