प्रमुख समाचार

नेपाली सेनाद्धारा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण

By लोकतन्त्र अनलाईन

March 30, 2026

पर्वत– नेपाली सेनाको पर्वत स्थित नयाँ रणभीम गूल्मले कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा रहेको एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । दुर्लुङमा रहेको दालपोखरी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका २५ जना विद्यार्थी तथा बालवालिका र विद्यालयलाई सोमवार एक समारोहका बीच शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गरिएको हो । पेन्सिल, कटर, ईरेजर, डटपेन, कपी, भलिबल, चेस, लुडो, स्किपिङ्ग डोरी लगायतका सामाग्री प्रदान गरिएको गुल्मले जनाएको छ । गुल्मपती सेनानी चिरञ्जीवी सुवेदीले उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । विपन्न, असहाय र दलित समुदायका बालबालिकाले अध्यययन गर्ने सामुदायिक विद्यालयमा यस्ता खालका सामाग्रीहरुले विद्यार्थीहरूको शिक्षामा थप टेवा पुर्‍याउने उद्देश्यका साथ सहयोग प्रदान गरिएको गल्मपती सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय तथा स्थानीय अभिभावक र अन्य बासिन्दाहरुले नेपाली सेनाको प्रशंसा गर्नुका साथै यस किसिमका कार्यक्रमहरु आगामी दिनमा अन्य स्थानहरुमा समेत संचालन गर्ने अपेक्षा व्यक्त गरेका छन् । नागरिक–सैनिक सम्बन्ध प्रगाढ बनाउन यस्ता खालका कार्यक्रमहरु सान्दर्भिक देखिएको गुल्मपति सुवेदीको भनाइ रहेको छ ।