प्रमुख समाचार

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : पविन र निश्चलको जोडी च्याम्पियन

By लोकतन्त्र अनलाईन

March 29, 2026

पर्वत –पर्वतमा आयोजित खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको खुला पुरुष डबल्सतर्फ पविन लिङथेप र निश्चल खत्रीको जोडीले उपाधि जितेको छ।

मोदीकाली ब्याडमिन्टन संघ कुश्माको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वतको समन्वयमा भएको प्रतियोगिताको फाइनलमा पविन र निश्चलको जोडीले अक्ष क्षेत्री र विवेक न्यौपानेको जोडीलाई २-१ सेटले हराउँदै उपाधि जितेको हो।

फाइनलमा अक्ष र विवेकको जोडीले पहिलो सेट २१–१२ ले जितेको थियो। तर दोस्रो सेटमा पविन र निश्चलले २४–२२ ले खेल बराबरीमा ल्याए। निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट पनि पवि नर निश्चलको जोडीले २२-२० ले जित्दै उपाधि आफ्नो नाममा पार्यो ।

विजेता जोडीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।‌ प्रतियोगितामा ८ टोली सहभागिता रहेको प्रचारप्रसार संयोजक सुनिल थापाले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय ‘बी’ लेभल पुरुष डबल्समा लक्ष्मणकुमार श्रेष्ठ र अक्ष क्षेत्रीको जोडी च्याम्पियन बन्यो। उनीहरूले फाइनलमा दिनेश श्रेष्ठ र विमल कुमालको जोडीलाई २१-१८ र २१-१५ ले हरायो।

खुला राष्ट्रिय मिक्स डबल्सतर्फ अक्ष क्षेत्री र तीलमाया रानाको जोडीले उपाधि जित्यो। उनीहरूले विशाल खड्का र दिलिशा रानाको जोडीलाई १६–२१, २२–२० र २१–१६ ले पराजित गरे।

४५ वर्षमाथिको राष्ट्रिय भेट्रान्स पुरुष डबल्समा शम्भु कुमार श्रेष्ठ र विशाल हिराचनको जोडी विजेता बन्यो। उनीहरूले अमृत राना र देव गुरुङको जोडीलाई २१–१५, २०–२२ र २१–८ ले हरायो।

धवलागिरि स्तरीय ‘सी’ लेभल पुरुष डबल्सतर्फ कृष्ण हमाल र राजेन्द्र हमालको जोडी च्याम्पियन बन्यो। उनीहरूले फाइनलमा कपिर मगर र कुमार पुनको जोडीलाई पराजित गरे। प्रतियोगितामा स्याङ्जाका विमल कुमाल उदयमान खेलाडी घोषित भए।

प्रतियोगितामा सहभागी खेलाडीहरूको ५० हजार रुपैयाँ बराबरको खेल बीमा गरिएको थियो। साथै घाइते राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रियान्शु सिंह क्षेत्रीको उपचारका लागि दर्ता शुल्कबाट उठेको रकमको १० प्रतिशत सहयोग प्रदान गरिने जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जंगबहादुर पुन (बुद्ध) ले जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यलगायतले विजेत खेलाडीलाई पुरस्कृत गरे।