पर्वत-नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला पार्टी कार्यालय, पर्वतमा आज ७५औँ मदन भण्डारी जन्मजयन्ती विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेकपा एमाले पर्वतका अध्यक्ष क. गोविन्द पहाडीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मनोहर वि. पौडेलको उपस्थिति रहेको थियो। कार्यक्रममा मेघनाथ सुवेदी, राजु प्रसाद पौडेल तथा विष्णुराज वि.क. लगायतका नेताहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेकपा एमाले कुश्मा नगर कमिटीका अध्यक्ष किशोर सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले स्वर्गीय मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक मूल्य–मान्यता तथा राष्ट्रिय राजनीतिमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) आज पनि सान्दर्भिक र मार्गदर्शक सिद्धान्तका रूपमा रहेको धारणा व्यक्त गर्नुभयो। वक्ताहरूले जबजले नेपाली कम्युनिष्ट आन्दोलनलाई जनतासँग जोड्ने महत्वपूर्ण वैचारिक आधार प्रदान गरेको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाधीनता र समृद्धिको यात्रामा यसको महत्व अझ बढ्दै गएको बताउनुभयो। कार्यक्रममा आजकै दिन नेपालका विभिन्न कम्युनिष्ट पार्टीका नेताहरू एउटै मञ्चमा देखिएको प्रसङ्गलाई समेत सकारात्मक रूपमा चर्चा गरिएको थियो। वक्ताहरूले कम्युनिष्ट आन्दोलनभित्रको एकता, सहकार्य र संवादप्रति जनतामा नयाँ आशा तथा उत्साह थपिएको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको समापन गर्दै अध्यक्ष गोविन्द पहाडीले मदन भण्डारीका विचार र आदर्शलाई व्यवहारमा उतार्दै समाजवाद उन्मुख समृद्ध नेपाल निर्माणमा सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रम उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।