पर्वत, १४ माघ : पर्वतको उच्च पहाडी भेगमा बुधवार विहानैदेखि भारी हिमपात भएको छ । मंगलवार रातीदेखि परेको अविरल बर्षासँगै आज विहानैदेखि विभिन्न भागमा हिमपात भएको हो ।
पर्वतको जलजा, हम्पाल, कोखेडाँडा, माटेको लेक, लेखफाँट, फलामेडाँडा लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको जलजलामा होटल व्यावसाय संचालन गर्दै आउनुभएका टिका पुनले जानकारी दिनुभयो । यसैगरी पर्वत, कास्की र स्याङ्जाको संगम स्थल पञ्चासे, डहरेदेउराली, दक्षिण पर्वतको चिसापानी र गोर्ल्याङको लेकमा हिमपात भएको स्थानीयले बताएका छन् ।
हिमपातसँगै निरन्तर वर्षा समेत भैरहेको छ । वर्षा र हिमपातका कारण चिसो अत्याधिक मात्रामा बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कृषकहरु भने लाभान्वित बनेका छन् । गहुँ, आलु, तोरी, जौ, फापर लगायतका बालीनाली लगाएका कृषकहरु उत्पादन बढ्ने भन्दै हर्षित बनेका हुन् ।
पर्वतमा चार वर्षपछि भारी हिमपात भएको हो । यसअघि वि.सं. २०७९ सालमा पनि तीन पटकसम्म हिउँ परेको थियो । विगतका वर्षहरुमा जलजला र हम्पाल क्षेत्रमा बाहेक अन्यत्र हिउँ परेको थिएन ।
हिउँसँगै पर्याप्त वर्षा भएपछि कृषकहरुले लगाएको हिउँदे बालीनाली र वर्षे बाली लगाउनका लागि पनि सहज भएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेले जानकारी दिनुभयो ।