प्रमुख समाचार

पर्वतको फलेवासमा भलिबल तथा डान्स आईडल सम्पन्न, भलिबलको उपाधि देविस्थान, आईडलको जोयालाई

By लोकतन्त्र अनलाईन

November 26, 2026

रामचन्द्र भुसाल, फलेवास ।

ग्रामीण भेगमा लुकेर रहेका खेल तथा कला क्षेत्रका प्रतिभाहरूको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले पर्वतको फलेवास नगरपालिका–६, देवीस्थानमा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिता तथा ‘देवीस्थान डान्स आइडल’ भव्यताका साथ सम्पन्न भएको छ । स्थानीय शान्तिचौर युवा क्लबको आयोजनामा मंसिर ६ गतेदेखि सुरु भएको चारदिने खेलकुद तथा सांस्कृतिक महोत्सव मंसिर ९ गते एक विशेष समारोहका बीच समापन भएको हो ।

ग्रामीण विकासमा खेलकुद र संस्कृतिको महत्त्व पछिल्लो समय युवा पुस्तामा बढ्दो वैदेशिक पलायन र निष्क्रिय जीवनशैलीका बीच यस्ता स्थानीय स्तरका प्रतियोगिताले गाउँघरमा उत्साह र ऊर्जा थपेका छन् । खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र मानसिक रूपमा सबल बनाउँछ भने नृत्य तथा सांस्कृतिक कार्यक्रमले स्थानीय कला, मौलिकता र सामाजिक सद्भावलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । देवीस्थानको शान्तिचौरस्थित मदन भण्डारी पार्क नजिकैको खेलमैदानमा भएको यो आयोजनाले खेल पर्यटनको प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाएको स्थानीयवासीको बुझाइ छ ।

भलिबल उपाधि आयोजक देवीस्थानलाई पर्वत र बागलुङ लगायतका विभिन्न स्थानीय तहबाट २० भन्दा बढी प्रतिस्पर्धी टोलीको सहभागिता रहेको भलिबल प्रतियोगितामा आयोजक देवीस्थान भलिबलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । यस्तै, कडा प्रतिस्पर्धाका बीच राङ्खानी युवा क्लब द्वितीय र खाल्टे युवा क्लब तृतीय स्थानमा चित्त बुझाउन बाध्य भए ।

विजेता टोलीहरूलाई क्रमशः नगद रु. ८३ हजार, रु. ४२ हजार र रु. २२ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत रूपमा समेत सम्मान गरिएको छ:

सर्वोत्कृष्ट खेलाडी (बेस्ट प्लेयर): विष्णु खत्री

बेस्ट स्पाइकर: शंकर बि.क.

बेस्ट सेटर: अभिषेक नेपाली

बेस्ट ब्लकर: अनुज बस्याल

बेस्ट लिबरो: सुजन नेपाली

उदीयमान खेलाडी (राइजिङ प्लेयर): रोशन कुँवर

डान्स आइडलको ताज जिया खातुनलाई खेलकुदसँगै स्थानीय नृत्य प्रतिभा उजागर गर्न आयोजित ‘देवीस्थान डान्स आइडल’ मा फलेवास–देवीस्थानकी जिया खातुनले निर्णायक र दर्शकको मन जित्दै प्रथम उपाधि हात पारिन् । प्रतियोगितामा महाशिलाकी प्रतिमा सुनार द्वितीय, कुश्माकी विपना पुलामी तृतीय र फलेवासकी प्रसिद्धि कुँवरले सान्त्वना स्थान हासिल गरिन् ।

उनीहरूलाई क्रमशः नगद रु. ८ हजार, रु. ४ हजार, रु. २ हजार र रु. १ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेतृत्वको प्रतिबद्धता र उत्साहजनक सहभागिता समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले खेलकुद र सांस्कृतिक गतिविधिले युवाहरूमा आपसी आत्मीयता, भाइचारा र नेतृत्व क्षमताको विकास गर्ने बताउनुभयो । “शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न खेलकुद अपरिहार्य छ, यस्ता रचनात्मक कार्यले समग्र गाउँसमाजको रूपान्तरणमा टेवा पुर्‍याउँछ,” नगरप्रमुख तिवारीले भन्नुभयो ।

कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा कुमारी क्षेत्री, देवीस्थानका वडाध्यक्ष नवीन कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्दै स्थानीय युवा क्लबको सक्रियताको प्रशंसा गर्नुभएको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी, खेलाडी तथा हजारौँ दर्शकको उपस्थिति रहेको उक्त समारोहमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

क्लबका अध्यक्ष सूर्य कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण कलाकार कृष्ण अखेली र सञ्चारकर्मी महेश भुसालले गर्नुभएको थियो ।