प्रमुख समाचार

विश्व लागु पदार्थ ओसारपसार विरुद्धको दिवस : पर्वतमा विविध गतिविधि सहित सम्पन्न

By लोकतन्त्र अनलाईन

June 26, 2026

पर्वत– लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा पर्वत जिल्लामा साताव्यापी विभिन्न सचेतनामूलक गतिविधिहरूका साथ सम्पन्न भएको छ । असार ६ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रवार प्रभातफेरी तथा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरि मनाईएको हो । आज विहान जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरूको उत्साहजनक सहभागितामा एक प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा प्रभातफेरी सम्पन्न भएको हो । उक्त कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर भरत सापकोटाले गर्नुभएको थियो ।

प्रभातफेरीमा सहभागीहरूले लागु औषध विरुद्धका विभिन्न सचेतनामूलक प्लेकार्ड र नाराहरू प्रदर्शन गरेका थिए । यसैगरी पर्वत जिल्लाका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “लागु औषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं“ शीर्षकमा आयोजित उक्त प्रतियोगितामा जिल्लाका २० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा काफलचौर मा.विका खुसीमान गिरी प्रथम, नमुना आवासीय मावि कुश्माकी सजता गिरी द्धितिय, नुवार सुवेदीथर माविकी सोविता सुवेदी तृतिय र शिव मावि फर्सेकी कृति आचार्य तथा  शिवालय माविकी शिवानी शर्माले  सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका कार्यालय प्रमुख मोतीलाल चपाई, एकीकृत सेवा कार्यालयका कार्यालय प्रमुख गोविन्द प्रसाद पौडेल, र जलजला गाउँपालिकाका शिक्षा अधिकृत टंकनाथ पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय पर्वतका कम्प्युटर अपरेटर भरत सापकोटाले गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरूले लागु औषधको बढ्दो कुलतलाई रोक्न युवा र विद्यार्थी वर्गमा चेतना जगाउनु पर्ने र यसको समाधानका लागि परिवार, समाज र राज्य सबै उत्तिकै जिम्मेवार हुनुपर्ने कुरामा जोड दिएका थिए ।