खेलकुद

पर्वतमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने, तयारी तीब्र

By लोकतन्त्र अनलाईन

June 26, 2026

पर्वत १२ असार : गण्डकी प्रदेशका ११ जिल्लाका उत्कृष्ट ब्याडमिन्टन खेलाडीहरू सहभागी हुने गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता पर्वतमा आयोजना हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा यहि असार १८ र १९ गते प्रतियोगिता सञ्चालन हुने भएको हो ।

जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष बुद्ध पुनका अनुसार प्रतियोगिता कुश्मा नगरपालिका– ५ बडागाउँस्थित पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहलमा सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका सबै ११ जिल्लाबाट महिला तथा पुरुष खेलाडीहरूको सहभागिता रहने पुनले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स तथा मिक्स डबल्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष, महिला र मिक्स डबल्सतर्फ प्रथम हुने टोलीले १० हजार रुपैयाँ, द्वितीयले ६ हजार र तृतीयले ४ हजार रुपैयाँसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै पुरुष तथा महिला एकलतर्फ प्रथमलाई ६ हजार, द्वितीयलाई ४ हजार र तृतीयलाई २ हजार रुपैयाँसहित शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने सबै जिल्ला टोलीले असार १७ गतेभित्र टोली दर्ता गरिसक्नुपर्नेछ । खेल असार १८ गते बिहान ७ बजेदेखि सुरु हुने भएको छ । प्रत्येक जिल्लाले डबल्सका तीन विधामा दुई/दुई जना तथा एकलका दुई विधामा एक/एक जना खेलाडी सहभागी गराउन पाउनेछन्। टोलीसँग एक जना  व्यवस्थापक गरी ९ जना रहने व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार सहभागी खेलाडीको खाना, बसोबास र यातायात खर्च नियमानुसार उपलब्ध गराइने भएकोे छ । असार १६ गतेसम्म टोली दर्ता गर्ने खेलाडीको दुर्घटना बीमा गरिने तथा खेलाडीको नाम सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ । खेलाडीले जर्सीको साईज १५ गतेभित्र उपलव्ध गराउनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताले गण्डकी प्रदेशमा ब्याडमिन्टन खेलको विकास, जिल्लाबीचको खेल प्रतिस्पर्धा सुदृढ बनाउन तथा प्रतिभावान खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।