प्रमुख समाचार

पर्वत प्रशासनमा तीन वर्षदेखि थन्किए दश हजार थान राष्ट्रिय परिचय पत्र

By लोकतन्त्र अनलाईन

November 24, 2026

पर्वत –  पर्वतमा करिब १० हजार थान राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयको दराजमै थन्किएका छन् । परिचयपत्र तयार भएर कार्यालयमा आइपुगे पनि सम्बन्धित व्यक्ति लिन नआउँदा लामो समयदेखि दराजमै थन्किएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा पछिल्लो पटक तीन वर्षअघि अर्थात् २०८० भदौमा २६ हजार दुई सय थान राष्ट्रिय परिचयपत्र आएको थियो । त्यसयता नयाँ परिचयपत्र आएको छैन । कार्यालयमा प्राप्त भएकामध्ये १६ हजार २०० थान वितरण भइसकेका छन् भने अझै १० हजार थान वितरण गर्न बाँकी रहेको छ ।

जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर विदुर सापकोटाका अनुसार हालसम्म पर्वतमा एक लाख १३ हजार जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । तर, परिचयपत्र तयार भएर आए पनि सम्बन्धित व्यक्ति लिन नआउँदा ठुलो सङ्ख्यामा परिचयपत्र कार्यालयमै थन्किएका हुन् ।

सापकोटाका अनुसार राष्ट्रिय परिचयपत्र लिन सम्बन्धित व्यक्ति स्वयं कार्यालयमा उपस्थित हुनुपर्छ । परिचयपत्र बुझ्न आउँदा विवरण दर्ता गर्ने बेलामा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने हुन्छ । प्रणालीले विवरण मिलेको पुष्टि गरेपछि मात्रै परिचयपत्र उपलब्ध गराइन्छ ।

‘राष्ट्रिय परिचयपत्र लिन आउँदा पनि सम्बन्धित व्यक्ति स्वयम् उपस्थित भएर पहिले विवरण दर्ता गर्दा दिएको दस्तखत र बायोमेट्रिक विवरण रुजु गराउनुपर्छ’, कम्प्युटर अपरेटर सापकोटाले भन्नुभयो, “फाराम भरेका अधिकांश व्यक्ति वैदेशिक रोजगारीलगायतका कारण विदेश गइसकेकाले पनि परिचयपत्र लिन नआएको हुन सक्ने हाम्रो बुझाइ छ ।”

परिचयपत्र तयार भएर आएको जानकारी सम्बन्धित व्यक्तिलाई मोबाइल नम्बरमार्फत समेत गराउने व्यवस्था रहेको सापकोटाले बताउनुभयो । परिचयपत्र तयार भएको जानकारी पाएपछि सम्बन्धित व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आफ्नो परिचयपत्र बुझ्न सक्नेछन् ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले कार्यालयमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले आएर बुझिलैजान आग्रह गर्नुभएको छ । परिचयपत्र तयार भएर आइसकेपछि पनि सेवाग्राही लिन नआउँदा दराजमै थन्किएको उहाँको भनाइ छ ।

‘राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेको छ, अब सम्बन्धित व्यक्ति स्वयम् कार्यालयमा आएर बुझिलैजानुपर्छ’, पौडेलले भन्नुभयो, ‘कार्यालयमा थन्किएका परिचयपत्र वितरणका लागि सेवाग्राहीलाई जानकारी गराउनुका साथै लिन आउन आग्रह गरिरहेका छौँ ।’