अर्थ/बाणिज्य

पर्वतमा संघीयको ९० र प्रदेश सरकारको करिब ७३ प्रतिशत बजेट खर्च

By लोकतन्त्र अनलाईन

July 24, 2026

पर्वत-  गत आर्थिक वर्ष वि.सं. २०८२/०८३ मा पर्वतमा रहेका संघीय कार्यालयहरुको ९० र प्रदेश कार्यालयको करिब ७३ प्रतिशत बजेट खर्च भएको छ ।

गत आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिनसम्म संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुले राज्य कोषबाट उक्त बजेट खर्च गरेका हुन् । कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख कोष नियन्त्रक ज्ञानप्रसाद अर्यालका अनुसार संघीय सरकारवाट जिल्लामा भित्रिएको कुल बजेट पाँच अर्ब ९० करोड २१ लाख ७९ हजार एक सय ९१ रुपैया मध्ये ५ अर्ब ३१ करोड ८८ लाख दुई हजार सात सय ९ रुपैया खर्च भएको हो । यो रकम स्थानीय तहलाई संघीय सरकारवाट प्राप्त अनुदान समेत रहेको अर्यालले बताए ।

उहाँका अनुसार उक्त बजेटमध्ये ४ अर्व ८१ करोड ६४ लाख १० हजार ६ सय ७६ रूपैयाँ चालु खर्चतर्फ र ८६ करोड ८८ लाख २४ हजार नौ सय १० रूपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको थियो । असार मसान्त सम्म ५ अर्ब ३१ करोड ८८ लाख दुई हजार सात सय ९ रुपैया खर्च भएको भएपनि जिल्लाका सातवटा पालिकाबाट रु. ५८ करोड ३३ लाख ७६ हजार चार सय ८१ रुपैया पैसा फ्रिज भएको छ ।

यसैगरी संघीय सरकार तर्फ पर्वतवाट ३८ करोड ३४ लाख ३५ हजार दुई सय २९ रुपैया राजश्व संकलन भएको छ ।

यसैगरी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारको तर्फबाट पर्वत जिल्लाका विभिन्न कार्यालयमा कुल एक अर्व ५५ करोड ३९ लाख ८८ हजार नौ सय २४ रूपैया बजेट प्राप्त भएको थियो । उक्त बजेटमध्ये ५५ करोड ५८ लाख ४३ हजार नौ सय २४ रूपैयाँ चालु तर्फको लागि र ९९ करोड ८१ लाख ४५ हजार रूपैयाँ पुँजीगत खर्चका लागि बिनियोजन गरिएको थियो । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा छ ।

गत असार २५ गते सम्म जिल्लामा प्रदेश सरकारबाट प्राप्त कुल बजेट मध्ये एक अर्ब १४ करोड ३७ लाख ३३ हजार सात सय १९ रूपैया अर्थात ७३ दशमलब ६० प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक अर्यालले जानकारी दिनुभयो । जसमध्ये पुँजीगत खर्चतर्फ ७० करोड ५६ लाख ९९ हजार ४५ रूपैया अर्थात ७० दशमलब ७० प्रतिशत बजेट खर्च भएको छ भने चालु खर्चतर्फ ४३ करोड ८० लाख ३४ हजार छ सय ७३ रूपैया अर्थात ७८ दशमलब ८१ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ ।

बजेट खर्चको हिसावले जिल्लामा संघीय बजेटको प्रभावकारी कार्यान्वयन र स्रोत व्यवस्थापन सक्षम रूपमा अघि बढिरहेको अवस्था देखिएको छ । चालु शिर्षकको बजेट संघीय र प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान, कार्यालय सञ्चालन, तलबभत्तामा खर्च हुने गर्छ । पँुजिगत बजेट विकास योजना तथा कार्यक्रमका लागि खर्च हुने गर्छ । यसअघिको बर्षको तुलनामा पर्वतमा यसपाली पुँजिगत बजेट खर्चमा सुधार आएको छ ।

पर्वतमा गत आर्थिक वर्षमा ४३ करोड ६१ लाख ९३ हजार चार सय ३५ रुपैया राजश्व समेत संकलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतको बजेट प्राप्त कार्यालयवाट ३८ करोड ३४ लाख ३५ हजार दुई सय २९ र प्रदेश मातहतका कार्यालयहरुवाट पाँच करोड २७ लाख ५८ हजार दुई सय ०६ रुपैया राजश्व संकलन भएको हो । यो अपेक्षा भन्दा कम राजश्व रहेको छ । उद्योग तथा फर्महरु बन्द हुँदै जानु, आर्थिक मन्दि आउनाले भएका उद्योगहरु समेत नविकरण नगर्नु, कर तीर्नतर्फ नागरिकको अरुचि जस्ता कारणले लक्ष्य अनुसार राजश्व संकलन हुन नसकेको पाईएको कार्यालयको भनाई छ ।

संघीय सरकारतर्फ राजश्व संकलन घटेको भएपनि प्रदेश सरकार अन्तर्गतको राजश्व संकलन भने बढेको छ । अघिल्लो वर्ष दुई करोड दुई लाख आठ हजार एक सय १९ रुपैया संकलन भएकोमा गत वर्ष बढेर पाँच करोड २७ लाख ५८ हजार दुई सय ०६ संकलन भएको हो ।