प्रमुख समाचार

जलजला गाउँपालिकाको आगामी बजेट ५३ करोड १२ लाख

By लोकतन्त्र अनलाईन

June 24, 2026

पर्वत, १० असार — पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधवार सम्पन्न गाउँसभाकाे  २१ ओै गाउँअधिवेशनमा उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेकाे बजेटमा गाउँपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, बालमैत्री स्थानीय शासन तथा राजस्व व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको हो। गाउँपालिकाले प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ ३५ करोड ६१ लाख रुपैयाँ र पुँजीगततर्फ १७ करोड ५१ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि संघीय सरकार, प्रदेश सरकार, आन्तरिक राजस्व तथा राजस्व बाँडफाँटबाट स्रोत व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ। बजेटका अनुसार संघीय सरकारको समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँट, विशेष तथा समपूरक अनुदानबाट ठूलो हिस्सा प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारको समानीकरण अनुदान, विशेष तथा समपूरक अनुदान र आन्तरिक स्रोतबाट समेत बजेट व्यवस्थापन गरिनेछ। गाउँपालिकाले आगामी वर्ष स्वास्थ्य पूर्वाधार विस्तारलाई विशेष प्राथमिकता दिएको छ। धाइरिङ स्वास्थ्य चौकी र नयाँ स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन बजेट छुट्याइएको छ। साथै माथिल्लो धाइरिङमा सुविधासम्पन्न आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण तथा सञ्चालनका लागि समेत रकम विनियोजन गरिएको छ। पूर्वाधारतर्फ अधुरो रहेका निर्माण कार्य सम्पन्न गर्न जोड दिइएको छ। निर्माणाधीन स्वास्थ्य चौकी भवन सम्पन्न गर्न थप बजेट व्यवस्था गरिएको छ भने पालिका स्तरीय खेलकुद मैदान तथा बहुउद्देश्यीय कभर्ड हल निर्माण का लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ। बालअधिकार र सुशासन प्रवर्द्धनका लागि बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम सञ्चालन गर्न ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले यस कार्यक्रममार्फत बालबालिकामैत्री सेवा प्रवाह र स्थानीय शासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। राजस्व सुधारलाई पनि बजेटको महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ। आन्तरिक आम्दानी अपेक्षाअनुसार बढ्न नसकेको अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले कर प्रशासनलाई प्रभावकारी बनाउने, डिजिटल प्रणालीमार्फत कर भुक्तानीको व्यवस्था विस्तार गर्ने, करदातामैत्री सेवा प्रवाह गर्ने तथा राजस्व चुहावट नियन्त्रण गर्ने नीति अवलम्बन गरेको छ। सम्पत्ति कर तथा व्यवसाय नवीकरण शुल्कमा दिँदै आएको १० प्रतिशत छुटलाई निरन्तरता दिइएको छ। गाउँपालिकाले बजेटमार्फत आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई तीव्रता दिँदै पर्यटन प्रवर्द्धन, सुशासन र समावेशी विकासको आधार निर्माण गर्ने अपेक्षा गरेको जनाएको छ। स्थानीय स्रोतको अधिकतम परिचालन गर्दै विकास निर्माणका कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता पनि बजेटमा व्यक्त गरिएको छ।