पर्वत ७ भदौ : पर्वतको फलेवास नगरपालिका वडा नं. –१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । महाशिला गाउँपालिकाको लुंखुदेउरालीबाट आइतवार दिउँसो बिहादी गाउँपालिका–१ बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो फलेवास–१० कुर्घास्थित सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी अटोमा सवार बिहादी गाउँपालिका–१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विकको ज्यान गएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका विकलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानकी २४ वर्षीया कविता विकको दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै, १५ वर्षीया अन्जुली विकको दाहिने खुट्टामा भित्री चोट लागेको छ भने १३ वर्षीया दुर्गा विकको टाउकोमा भित्री चोट लागेको छ । दुवैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालदय पर्वतका प्रहरी निरिक्षक राजनकुमार पटेलले जानकारी दिए । अटो चालक फलेवास नगरपालिका–११ पङराङका ३६ वर्षीय मनबहादुर परियारको बायाँ ढाड र कुममा भित्री चोट लागेको छ । उनको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबै जनाको प्रदेश अस्पताल कुश्मामा उपचार भैरहेको प्रहरी निरिक्षक पटेलले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ओरालो बाटोमा ब्रेक नलागेका कारण चालकले अटो नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।