पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माध्यमिक विद्यालयमा रहेको पुर्णेश्वर भुतपुर्व विद्यार्थी संगठनको आठौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा बिनय शर्मा चापागाई, सचिबमा दामोदर पौडेल, सहसचिबमा लोकनाथ अधिकारी र कोषाध्यक्षमा अम्विका पौडेल लामिछाने रहनुभएको छ । यसैगरी सदस्यहरुमा लक्ष्मण पौडेल, हरिशचन्द्र अधिकारी, दिवाकर अधिकारी, सुमन पौडेल, सुवास रोका र लेखनाथ रेग्मी रहनुभएको छ । यस अघि आयोजित अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दैै गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका सचेतक भक्त कुँवरले प्रदेशको सिमीत श्रोत र बजेटका कारण अपेक्षित विकास गर्न नसकिएको बताउनुभयो । प्रदेश सरकारसँग पर्याप्त बजेट नहुनु र वर्षेनी ओरालो लाग्दो अर्थतन्त्रका कारण आफुले निर्वाचन र निर्वाचनपछि गरेका बाचाहरु समेत पुरा गर्न नसकेको बताउनुभयो ।
उहाँले अब राजनीतिक दलहरु सुधारिदै अघि बढ्नुपर्ने बताउनुभयो । अब पुरानै तरिकाले जनतालाई आकर्षण गर्न नसकिने बताउँदै समयअनुकुल परिवर्तन हुँदै जानुपर्ने बताउनुभयो । उहाँले जनताको जीवनसँग जोडिएका र आर्थिक रुपमा सवल हुने खालका योजना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा योजना बैंक बनाएर प्राथमिकताका आधारमा बजेट बिनीयोजन गर्नेगरी पहल गरिरहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भुतपुर्व विद्यार्थी समाजका सल्लाहकार शान्त पौडेल, कुश्मा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामचन्द्र सुवेदी, समाजका पुर्व अध्यक्षहरु रामचन्द्र पौडेल, अरुण पौडेल, धनेश्वर पौडेल, विद्यालयका प्रअ नारायण्(ा प्रसाद अर्याल, पुर्व वडा अध्यक्ष सुजन विक, पुर्व कार्यपालिका सदस्य देवेन्द्र नपाली, नेपाली काँग्रेसका लोकनाथ अधिकारी, नेकपा एमालेका विष्णुबहादुर सुनार, नेकपाका कम लामिछाने समाजका आजिबन सदस्य शोभाखर खनाल लगायतले बोल्नुभएको थियो । समाजका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत बिनय शर्मा चापागाई र संचालन सचिब सन्तोष पौडेलले गर्नुभएको थियो । सो अवसरमा समाजका संस्थापक तथा पुर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।