प्रमुख समाचार

एमाले उम्मेदवार गिरीले पठाए पर्वतेली मतदाताका घरघरमा यस्तो पत्र

By लोकतन्त्र अनलाईन

February 23, 2026

पर्वत- नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नुभएका पदम गिरीले मतदाताहरुलाई पत्र लेख्नुभएको छ । निर्वाचनमा सवै मतदातालाई पठाउन गरी हुलाक पत्र डिजाइनमा तयार पत्रमा उहाँले आफू मन्त्री र प्रमुख सचेतकको जिम्मेवारीमा हुँदा कहि कतै पनि प्रश्न उठ्ने गरी गलत काम नगरेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभएको छ – ‘पाटीको प्रमुख सचेतक देखि मन्त्री हुँदा मेरो चरित्रमा कहीँ कतै प्रश्न उठ्ने काम गरिन् । सदनमा सधैभर पर्वतबासीहरुका दुःख र समस्याका विषयहरु उठाईरहँे ।’

पर्वत जिल्लामा यो अवधिमा २ सय १० किलोमिटर सडक र २१ वटा मोटरेवल पुलहरुको निर्माण भएको उल्लेख गर्दै गिरीले भन्नुभएको छ : ‘नवयुवाका जायज माग हाम्रो पनि कामको प्राथमिकताका क्षेत्र हुन् । विगतमा भएका कमि कमजोरीहरुलाई सच्याएर हामी विधिको शासन र सुशासनको पक्षमा जिम्मेवार भएर काममा जुट्नेछौं । यहाँहरुले गर्नुभएको विश्वासलाई हिजो पनि मैले जोगाएर राखेँ ।’

पत्रमा उल्लेख गरिएको विवरण

पर्वतको एउटा गाउँ दुर्लुङ, जहाँ अभाव, दुःख र संघर्षका अनेकौ कथाहरु थिए, त्यहि दुःखको सागरबाट हुर्किएको म धुले सडकमा बस चढेर पृथ्वीनारायण क्याम्पस पोखरामा पढ्न गएँ । विद्यार्थी उमेरमै समाज परिर्वतनको चेतनाले भरिएको मेरो मन जव राजनीतिमा होमियो, अनेकौं कष्टहरु पारगर्दै गर्दा मलाई तत्कालीन शाही सरकारले मध्यरातमा गिरफ्तार गरि बंकरमा हालेर यातना दियो, तर हाम्रो चेतनाले अधिकारमा सम्झौता गरेन, निरङ्कुशता हार्यो, लोकतन्त्र विजयी भयो ।

लोकतान्त्रिक अभ्यासमै मलाई यहाँहरूले दुईपटक प्रतिनिधि सभा सदस्य बनाउनुभयो । आभार दोहोर्याउँदै भन्छु – ‘मैले जनताको विश्वासमा कुनै घात गरिन । नैतिकतामा दाग लाग्ने कुकर्म गरिन । कर्तव्य र जिम्मेवारीबाट भागिन । तपाइँको प्रतिनिधि सधैं संसदमा देखियो । सुनियो !’

अब हरेक गाउँमा जाँदा पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदैछ । बिहानभर लगाएर एक गाग्री पानी बोकेर खानुपर्ने अवस्थाको अन्त्य भएको छ । पर्वत जिल्लाको सन्दर्भमा हाम्रै कार्यकालमा २१० किलोमिटर भन्दा बढि सडक कालोपत्रे भएको छ । २१ वटा मोटरेवल पुलहरु निर्माण भएका छन् ।

हजुरबा हजुरआमाहरूले बाहिरबाट पठाएका हुलाकपत्र वाचन गरिदिएको हाम्रो पुस्ताले हातहातमा मोबाइल चलाउँदै सदाचार, रोजगार, विकास, सुशासन र समृद्धि खै ? भनेर जायज प्रश्न उठाइरहेको छ । हाम्रो जनशक्ति राज्यका विभिन्न निकायदेखि विदेशसम्म प्रभावशाली छ । तैपनि यी प्रभावशाली ब्यक्तिहरु गाउँबाट किन रित्तिदैछन् ? हामीसँग जमिन, श्रम, बुद्धि र सम्भाब्य लगानी स्रोत समेत छ तर चाहिएको छ – ‘दूरदर्शी नीतिसहितको नेतृत्व निरन्तरता ।’

मैले संसदमा रहँदा पर्वतको आवाज उठाएँ । पर्वतकै पहिलो संघीय मन्त्रीको महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्दा नेपालको स्वास्थ्य क्षेत्रका समस्याहरु समाधानका लागि ठोस कार्य योजना निर्माण गरे । कार्यकाल छोटो भएका कारण ती योजना लागू गर्न नपाउँदै मेरो कार्यकाल सकियो । मलाई दोस्रोपटक कानून मन्त्रीको महत्वपूर्ण जिम्मेवारी प्राप्त भयो । संघीयताको कार्यान्वयनसंगै अधुरा रहेका कानूनहरु निर्माणमा मेरो महत्वपूर्ण भूमिका यहाँहरुले सहजै मूल्यांकन गर्नुभएकै छ । यो अवधिमा प्रतिनिधि सभामा संसदीय दलको प्रमुख सचेतक हुँदा संसदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको विषय यहाँहरुलाई थाहा नै छ ।

पुर्खाको सिर्जनशील उद्यम र पसिनाबाट प्रेरणा लिँदै गाउँ र शहर जोड्ने विकासमार्फत रित्तिँदै गएका गाउँलाई पुनर्जीवित बनाउन म पदम गिरी नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेको छु । मेरो कार्यकालमा कुनै गम्भीर प्रश्नको जवाफ दिनुपरेन । के गरिस् होइन, गर्न के बाँकी रह्यो भन्दै पर्वतबासीहरुले मलाई प्रश्न गरीरहनुभएको छ । हो, म ती बाँकी कामलाई पूरा गर्न पाउने विश्वास सहित तपाइँसामु आएको छु । पक्कै पनि कैयौ समर्थक, शुभचिन्तक, सहयोगी, आफन्तका ब्यक्तिगत समस्या सम्बोधनमा मेरो परिस्थितिजन्य कारण सहयोग गर्न सकिनँ होला । कतिपय अवस्थामा बाचाकबुल बमोजिमका काम भएनन पनि होला । सवै कमी–कमजोरीको आत्मस्वीकारलाई हजुरले थप सुधारको वचनका रुपमा ग्रहण गरिदिनुहुनेछ भन्ने विश्वास छ ।

नवयुवाका जायज माग हाम्रो पनि कामको प्राथमिकताका क्षेत्र हुन् । विगतमा भएका कमि कमजोरीहरुलाई सच्याएर हामी विधिको शासन र सुशासनको पक्षमा जिम्मेवार भएर काममा जुट्नेछौं । यहाँहरुले गर्नुभएको विश्वासलाई हिजो पनि मैले जोगाएर राखेँ । पाटीको प्रमुख सचेतक देखि मन्त्री हुँदा मेरो चरित्रमा कहीँ कतै प्रश्न उठ्ने काम गरिन् । सदनमा सधैभर पर्वतबासीहरुका दुःख र समस्याका विषयहरु उठाईरहँे । भोलीका दिनमा पनि पर्वतबासीको शिरलाई उचो बनाउने प्रतिबद्धता सहित यहि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा हजुर सामू सूर्य चिन्हमा मत मागेको छु ।

तपाईहरुकोे प्रतिनिधि पदम गिरी प्रतिनिधिसभा सदस्य उम्मेदवार, पर्वत