प्रमुख समाचार

पर्वतको जलजलामा प्राविधिक शिक्षामा दलित विद्यार्थीलाई छात्रवृत्ति

By लोकतन्त्र अनलाईन

May 22, 2026

पर्वत-  जलजला गाउँपालिका ले दलित समुदायका विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा पहुँच बढाउने उद्देश्यसहित प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै प्राविधिक शिक्षामा अध्ययनरत दलित विद्यार्थीहरूबाट आवेदन माग गरेको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत दलित समुदायका विद्यार्थीहरूको शैक्षिक सुधारका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । सूचनाअनुसार आवश्यक कागजातसहित इच्छुक विद्यार्थीहरूले आगामी २०८२ असोज १४ गतेभित्र गाउँपालिकाको महिला तथा बालबालिका शाखामा आवेदन पेश गर्नुपर्नेछ ।

सूचनामा तोकिएको समयभित्र आवेदन नपुगेका निवेदनमाथि कुनै कारबाही नगरिने उल्लेख गरिएको छ । आवेदनका लागि व्यक्तिगत निवेदन, नेपाली नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, सम्बन्धित शैक्षिक संस्थामा भर्ना भएको प्रमाणपत्र वा सिफारिस पत्र, एसईई उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित वडा कार्यालयबाट दलित समुदायको सिफारिस पत्र अनिवार्य गरिएको छ ।

त्यस्तै कक्षा ११/१२ मा प्राविधिक धार वा स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूले क्भ्भ् को लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने तथा स्नातक तहमा प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीहरूले एसईई र कक्षा १२ को लब्धाङ्क पत्र तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने जनाइएको छ ।

गाउँपालिकाले दलित समुदायका विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ आकर्षित गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।