प्रमुख समाचार

पर्वतमा पशुमा लम्पी स्किनको लक्षण देखिएपछि खोप र नमुना परीक्षण गरिँदै

By लोकतन्त्र अनलाईन

August 21, 2026

पर्वत-  जिल्लाका केही स्थानमा गाई, गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुमा खोप लगाउने र रोगको पुष्टि गर्न नमुना परीक्षण गर्ने काम सँगसँगै सुरु गरिएको छ ।

मोदी गाउँपालिका–५ बाजुङ, फलेवास नगरपालिका तथा कुश्मा नगरपालिका–१० पिपलटारीमा लम्पी स्किनसँग मिल्दोजुल्दो लक्षण देखिएका पशुमा खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले जनाएको छ । लक्षण देखिएका पशुबाट नमुना सङ्कलन गरी रोगको पुष्टि गर्न पोखरास्थित प्रयोगशालामा बुधवार पठाइएको छ ।

कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठका अनुसार नमुनाको परीक्षण नतिजा आउन दुईदेखि तीन दिनसम्म लाग्न सक्छ । प्रारम्भिक अवस्थामा पशुमा देखिएको लक्षण लम्पी स्किनसँग मिल्दोजुल्दो रहेकाले जोखिम न्यूनीकरणका लागि खोपसमेत लगाइएको उनले बताए ।

‘अहिले सुरुवाती अवस्था हेर्दा लम्पी स्किनको लक्षणजस्तै देखिएको छ । त्यसैले खोप पनि दिइएको हो र शङ्काको पुष्टि गर्न नमुना परीक्षणका लागि पठाएका छौँ’, श्रेष्ठले भने, ‘पशुमा असामान्य किसिमका गाँठा, ज्वरो वा लम्पी स्किनसँग मिल्ने अन्य लक्षण देखिएमा कृषकले तत्काल सम्बन्धित स्थानीय तहको पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयमा जानकारी गराएर पशुलाई सुरक्षित राख्नुपर्छ ।’

पर्वतमा २ वर्षअघि लम्पी स्किनको सङ्क्रमण फैलिएको थियो । त्यसैले विगतको अनुभवलाई ध्यानमा राख्दै अहिले लक्षण देखिँदासाथ परीक्षण र निगरानीलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ ।

कार्यालयका पशु प्राविधिक प्रकाश परियारका अनुसार हालसम्म तीन वटा गाईमा लम्पी स्किनसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । यद्यपि विगतमा जस्तो गम्भीर अवस्था भने अहिले नरहेको त्यस्तो अवस्था आउने सम्भावना पनि कम रहेको उनको भनाइ छ । ‘यस पटक तीन वटा गाईमा लक्षण देखिँदासाथ नै खोप पनि दिइएको छ । परार साल भने पर्वतमा ७० वटा पशु मरेका थिए’, प्राविधिक परियार भन्छन्, ‘अहिले विगतमा जस्तो समस्या देखिएको छैन ।

बरु विगतमा खोप लगाउन छुटेका केही पशुमा अहिले लक्षण देखिएको हुनसक्छ ।’ उहाँले हाल देखिएको अवस्थालाई लिएर कृषक आत्तिनुपर्ने अवस्था नरहेको तर पशुमा देखिने लक्षणप्रति भने सचेत हुनुपर्ने सुझाए ।

लम्पी स्किन गाई भैँसीमा लाग्ने ‘भाइरस’ जन्य संक्रामक रोग हो । यो रोग मुख्यतः सङ्क्रमित पशुको रगत चुस्ने झिँगा, लामखुट्टे, किर्नाजस्ता कीराको माध्यमबाट स्वस्थ पशुमा सर्न सक्छ । सङ्क्रमित पशुसँगको सम्पर्क, दूषित उपकरण तथा एउटै सुईको प्रयोगबाट पनि सङ्क्रमण फैलिन सक्ने पशु प्राविधिकहरू बताउँछन् ।

लम्पी स्किनविरुद्ध उपलब्ध खोप पशु चिकित्सक वा पशु प्राविधिकको सल्लाहअनुसार समयमै लगाउने, नयाँ पशुलाई अरू पशु राखेको बथानमा सिधै नराखेर केही समय एक्लै राखेर लक्षण हेर्ने, छालामा गाँठा, ज्वरो, आँखा तथा नाकबाट पानी आउने, दूध उत्पादन घट्ने वा अन्य असामान्य लक्षण देखिएमा पशु प्राविधिकलाई खबर गर्ने, गोठ वरिपरि सफा राख्ने र झिँगा, लामखुट्टे तथा किर्ना नियन्त्रण गर्ने लगायतका काम कृषकहरूले नै गर्नुपर्ने उनीहरूको भनाइ छ ।