पर्वत – पर्वत कुश्मा नगरपालिकाले सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने ऋणिप्रति कडाइ गर्ने संकेत गरेको छ । नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाका सञ्चालक तथा सरोकारवालासँग बुधबार आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा ऋण असुली प्रभावकारी बनाउन विभिन्न उपायबारे छलफल गरिएको हो । कार्यक्रममा बोल्दै नगरपालिकाका प्रतिनिधिहरुले सहकारीको रकम फिर्ता नगर्ने ऋणीका कारण समग्र सहकारी क्षेत्र नै संकटमा पर्न थालेको उल्लेख गरे । सहकारीमा सर्वसाधारणको बचत सुरक्षित राख्न ऋण असुलीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिएको थियो । अन्तरक्रियामा सहभागीहरुले जानाजानी ऋण नतिर्ने व्यक्तिलाई नगरपालिकाबाट प्रदान गरिने केही सेवासुविधामा रोक लगाउने व्यवस्था आवश्यक रहेको सुझाव दिएका थिए । यस्ता ऋणीलाई सिफारिस, अनुदान तथा अन्य प्रशासनिक सेवामा कडाइ गर्न सकिने विषयमा समेत छलफल भएको बताइएको छ । कार्यक्रममा सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक तथा सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो । सहकारी क्षेत्रको सुधार, बचतकर्ताको हित संरक्षण तथा वित्तीय अनुशासन कायम गर्न नगरपालिका थप सक्रिय हुने जनाइएको छ । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सहकारीहरुमा देखिएका समस्या समाधानका लागि संचालकहरु जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । सहकारी संस्थाको ऐन नियम अनुसार संचालन गरेमा कुनै समस्या नहुने बताउँदै समस्याग्रस्त सहकारीहरुहरुको नियमन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकिय अधिकृत किरण पौडेल, सामाजिक विकास समिति संयोजक इश्वर गिरी, सहकारी संघका जिल्ला अध्यक्ष शेषराज रेग्मी, पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायत विभिन्न वडाका वडा अध्यक्षहरु ल्गायतको सहभागिता थियो ।